‘दण्डहीनताका कारण चुनावताका हिंसा’

  • 1 जुलाई 2017
भक्तपुर तस्वीर कपीराइट Reuters
Image caption स्थानीय तहको दुई चरणका चुनावमा विभिन्न स्थानमा अज्ञात समूहले विस्फोटक पदार्थ राखेका थिए।

निर्वाचनताका हिंसात्मक गतिविधिमा संलग्न हुनेमाथि कडा कानूनी कारबाही नहुँदा त्यस्ता क्रियाकलाप नियन्त्रण हुन नसकेको विज्ञहरुले बताएका छन्।

निर्वाचन केन्द्र वरपर विस्फोटक पदार्थ राख्ने, बम प्रहार गर्ने तथा आक्रमण गर्ने जस्ता कार्यमा संलग्न हुनेहरु राजनीति राजनीतिक आबद्धताका कारण सामान्य कारबाहीमा छाडिने प्रवृत्ति रहेकाले बाँकी चुनावका बेला पनि सुरक्षा खतरा हुन सक्ने भन्दै उनीहरुले सचेत गराएका छन्।

यसपालिको स्थानीय चुनावको दुवै चरणका आसपासमा चुनाव विरोधी तथा बिथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा देशका विभिन्न ठाउँबाट ७७७ जनालाई पक्राउ गरी ४१९ जनाविरुद्ध मुद्दा चलाइएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कतिपय विस्फोटक पदार्थसहित पक्राउ परेकामध्ये मुख्य गरी नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह, सिके राउत समर्थक र आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ता छन्।

जोखिम

तस्वीर कपीराइट Reuters
Image caption चुनावमा मतपेटिकाको सुरक्षाका लागि विशेष योजना बनाइएको थियो।

पक्राउ परेकामध्ये विप्लव समूहका ३१४ जना, सिके राउत समर्थक ६ जना र राष्ट्रिय जनता पार्टी नेपालका २२ जना लगायतका मानिसविरुद्ध मुद्दा चलाइएको हो।

यही हप्तामात्रै दोस्रो चरणको मतदानको दिन दाङमा एकजना प्रहरी हवल्दारले मतदानका लागि लाइन लागेर बसेका मतदातालाई ठूलो जोखिम मोलेर बम विस्फोटबाट जोगाए।

तर उक्त बम प्रहार गर्नेलाई हालसम्म प्रहरीले समात्न सकेको छैन।

नेपालमा यस्तो प्रवृत्ति नयाँ नभएको भन्दै एकजना पूर्व गृहसचिव श्रीकान्त रेग्मी भने, "त्यस्ता कार्यकर्तालाई पक्राउ गरी कडाईका साथ कारबाही गरिनुपर्छ। राजनीतिक कार्यकर्ता हुन् भनेर प्रहरीले छुट दिने वा लचिलो हुने काम भयो भने यस्ता घटनाको पुनरावृत्ति भइरहन्छ।"

प्रकृति

चुनाव बिथोल्न खोज्दा पक्राउ परेकाविरुद्ध सार्वजनिक, संगठित र विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाइएको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताए।

कसुर अनुसारको कानूनी कारबाही गर्न आफूहरुले कुनै कसर बाँकी नराखेको बताउँदै उनले भने, "पहिलो चरणको तुलनामा दोस्रो चरणको चुनाव शान्तिपूर्ण भएको छ। पक्राउ परेकामध्ये घटनाको प्रकृति हेरेर हामीले अनुसन्धान गरी दोषीलाई कानून बमोजिम कारबाही गरेका छौँ।"

उनले त्यसो भने पनि राजनीतिका नाममा हुने हिंसात्मक घटनामा संलग्न हुनेविरुद्ध कानूनी कारबाही हुन नसक्दा आगामी चुनावहरु कम जोखिमपूर्ण नहुने विज्ञहरु बताउँछन्।

तेस्रो चरणको स्थानीय चुनाव असोज २ गतेका लागि तोकिएको छ।