सिरिया द्वन्द्व: आत्मघाती बमको पिछा

  • 2 जुलाई 2017
कारबम विष्फोटपछि तहरिर स्क्वायर तस्वीर कपीराइट SANA VIA REUTERS
Image caption दमास्कसको तहरिर स्क्वायरमा आत्मघाती बम बिस्फोट गराइएको छ

सिरियाको राजधानी दमास्कसमा आत्मघाती कारबम विष्फोटमा परेर कम्तीमा १९ जनाको ज्यान गएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ।

रिपोर्टहरुका अनुसार तीनवटा शंकास्पद कार बमधारीहरु राजधानी दमास्कस प्रवेश गर्न खोजेदेखि सिरियाली प्रहरीले उनीहरुलाई पछ्याएको थियो।

दुईवटा कारहरुलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएपनि तेस्रो कार शहरको पुर्वपट्टी पर्ने तहरिर स्क्वायरमा प्रवेश गर्दा सवैतिरवाट घेरिएपछि आत्मघाती विष्फोटन गराएको बताईएको छ।

गृहयुद्ध

हालसम्म सरकारकै नियन्त्रणमा रहेको सिरिया विगत ६ बर्षयता गृहयुद्धमा फँसेको छ।

आईतबारको उक्त आत्मघाती हमलामा कम्तीमा १२ जना घाईते भएका छन्।

सरकारी टेलिभिजनका अनुसार आक्रमणकारीहरुको मुस्लिमहरुको पवित्र रमादान पर्वपछि काममा फर्किएको पहिलो दिन राजधानीको भीडभाडयुक्त ठाउँमा आत्मघाती बिष्फोट गर्ने योजना रहेको थियो।

एकजना प्रहरी अधिकारीले एसएएनए समाचार एजेन्सीलाई भने, 'आतंकवादी विष्फोटका क्रममा मानिसहरुको ज्यान गएको छ, कैयौं घाईते भएका छन् र केही भौतिक क्षतिपनि भएको छ।'

एकजना स्थानीयबासीले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार उनले करिव ६ वजे (३:00 जीएमटी) तिर बन्दुक पड्केको आवाज सुनेका थिए र त्यस लगत्तै भएको विष्फोटका कारण नजिकैका घरका सिसाहरु फुटेका थिए।

हालसम्म कुनैपनि समूहले उक्त हमलाको जिम्मा लिएको छैन।

विस्थापित

सन् २०११ मा सरकार विरोधी आन्दोलनका रुपमा शुरु भएको उक्त सिरियाली युद्धमा हालसम्म ३ लाख भन्दा बढि मानिसहरुको ज्यान भएको छ।

शरणार्थी सम्बन्धि राष्ट्रसंघीय निकायले गृहयुद्ध शुरुभएयता हालसम्म झण्डै ५५ लाख मानिसले सिरिया छाडिसकेका छन् भने ६३ लाख जनता आन्तरिक रुपमा विस्थापित भएका छन्।

दमास्कस धेरैजसो राष्ट्रपति बसर अल असदको नियन्त्रणमा रहेको छ। र दमास्कसमा त्यति धेरै लडाइँहरु भएका छैनन्।

तर गत मार्च महिनामा अदालत परिसरमा ३१ जनाको ज्यान जानेगरि भएका हमला जस्तै राजधानीले कैयौं आत्मघाती हमलाको सामना गर्नुपरेको छ ।