दोस्रो चरणको चुनावका 'विचित्र-चित्र'

  • 3 जुलाई 2017
मुस्लिम उम्मेदवार तस्वीर कपीराइट .
Image caption नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ४ को अध्यक्षमा मोहम्मद शफिक बेहनाल(बायाँ) र वडा नम्बर ५ को अध्यक्षमा कैफुल बरा अन्सारी (दायाँ) विजयी भएका छन्

दोस्रो चरणको स्थानीय चुनावका कतिपय परिणाम 'अनौठो' तथा 'अनपेक्षित' खालका देखिएका छन्।

लामो समयसम्म कुनै दल विशेषको 'गढ'को रुपमा परिचित कतिपय स्थानमा अर्कै पार्टीले जित हात पारेका छन्।

हिन्दुराष्ट्रको परिकल्पना गर्ने राप्रपा जस्तो दलबाट कतिपय स्थानमा मुस्लिम उम्मेदवारले जितेका छन्।

चुनावमा सहभागी नहुने घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपालका कतिपय उम्मेदवार स्वतन्त्र रुपमा उठेका थिए र सोमबारसम्मको परिणामअनुसार एकस्थानमा प्रमुख पदमा जित पनि हात पारेका छन्।

'हिन्दुराष्ट्रको पक्षमा मुस्लिम'

राप्रपाले संसद्‌मा रहेको आफ्नो चौथो ठूलो दलको हैसियत पहिलो र दोस्रो दुवै चरणको स्थानीय चुनावमा देखाउन त सकेन।

तर जितेका उम्मेदवार र जिल्लाका कारण उसको विजय रोचक बनेको छ।

मुस्लिम समुदायको ठूलो बसोवास रहेको नेपालगञ्ज उपमहानगरपालिकाबाट राप्रपाका उम्मेदवार धवलशमशेर राणा जितको नजिक पुगेका छन्।

वडा अध्यक्षमा राप्रपाका चारजना मुस्लिम उम्मेद्वारमध्ये वडा नम्बर ४ मा मोहम्मद शफिक बेहना र वडा नम्बर ५ मा कैफुल बरा अन्सारी विजयी भएका छन्।

त्यहाँ मात्र होइन, पूर्वको झापामा पनि मुस्लिम समुदायको बाक्लो बसोवास रहेको दक्षिण कचनकवल गाउँपालिकाको प्रमुखमा विजयी अन्जार आलम राप्रपाका हुन्।

राप्रपाले राजसंस्था र हिन्दु-राष्ट्रको वकालत गर्दै आएको छ।

नेपालगञ्ज वडा नम्बर ४ का नवनिर्वाचित अध्यक्ष मोहम्मद शफिक बेहनाले 'राजतन्त्रात्मक हिन्दुराष्ट्रमा मुस्लिम सुरक्षित रहेको तर अहिले असुरक्षित महसुस भइरहेको' टिप्पणी गरे।

उनले भने, "पहिला हाम्रो देश विश्वको एकमात्र हिन्दुराष्ट्र थियो। विश्वको जुनसुकै देशमा जाँदा कहाँ बस्छौं भनेर सोध्दा हामीले हिन्दुराष्ट्रमा बस्छौं, विभिन्न धर्मावलम्बी मिलेर बसेका छौं, सुरक्षित छौं भनेर गर्वले भन्थ्यौं। यतिखेर त देश छाडा जस्तो भइसक्यो।"

Image caption पश्चिमतिरमात्रै होइन पूर्वी नेपालमा पनि मुस्लिमको बाक्लो बसोवास रहेका स्थान छन्

'देउवाको दैलोमा सूर्य'

प्रधानमन्त्री देउवाको गृहजिल्ला अमरगढी नगरपालिकाको प्रमुखमा नेकपा एमालेले जितेको छ।

त्यहाँ विगतमा नेपाली कांग्रेसले जितेको थियो।

देउवाको रोजाइका उम्मेदवारलाई पार्टीभित्रकै अर्को समूहले असहयोग गरेको कांग्रेसका जिल्ला कार्यकर्ताको बुझाइ पाइन्छ।

तर उनको आफ्नै गाउँपालिकामा भने कांग्रेस विजयी भएको छ।

'लालकिल्लामा दक्षिणपन्थीको उदय'

विक्रम सम्वत् २०४६ को जनआन्दोलनको सफलतापछि झापा जिल्लाको पहिचान 'लालकिल्ला' अर्थात् 'कम्युनिष्टहरुको गढ' को थियो।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लाका दुईवटा गाउँपालिकामा वामपन्थी दलले 'दक्षिणपन्थी' ठान्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ।

राप्रपा कचनकवल गाउँपालिकाको प्रमुख र उपप्रमुख तथा हल्दीबारी गाउँपालिकाको प्रमुखमा विजयी भएको हो।

तर राप्रपाले जितेका दुवै गाउँपालिका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा पर्छन्।

अघिल्लो संविधानसभा चुनावमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले उक्त क्षेत्रमा सिटौलालाई चुनौती दिएका थिए।

पूर्वप्रधानमन्त्रीहरु लोकन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाको गृह-जिल्लामा होस् वा महामन्त्री दीपक बोहराको गृह-जिल्लामा पनि राप्रपाले सफलता पाउन सकेन।

पहिलो चरणको चुनावमा अध्यक्ष कमल थापा र महामन्त्री विक्रम पाण्डेको गृहजिल्लामा पनि राप्रपा परास्त भएको थियो।

दोस्रो चरणको मतदान( तस्वीर)

पार्टी विनाका उम्मेद्वार

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनाव बहिष्कार गरेको थियो।

तर कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा स्वतन्त्र उम्मेद्वारी दिएका उक्त दलका कार्यकर्ता निशार अहमद खाँ विजयी भएका छन्।

राप्रपा महामन्त्री दीपक बोहराको घर भएको सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ३ मा एमाले उम्मेदवार विजयी भएका छन्।

सो वडा अहिले राप्रपाकोतर्फबाट मेयरका प्रत्यासी तथा पूर्व मेयर सागर प्रताप राणाको पनि वडा हो।

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्टयाउने प्रस्तावको विरोधमा आन्दोलित बुटवलमा एमालेविरुद्ध सत्ताधारी कांग्रेस-माओवादीको गठबन्धन छ।

तर मतगणनामा एमाले उम्मेदवार अगाडि छन्।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको प्रमुखमा एमाले उम्मेदवार पूर्व जिविस सभापति पीताम्बार भुसाल पराजित भएका छन्।

बहुदलपछिको स्थानीय चुनावमा लगातार साविकको तम्घास गाविस तथा हालको रेसुंगा नगरपालिका, गुल्मीबाट जित्दै आएका कांग्रेसका भुवन श्रेष्ठ अध्यक्षमा पराजित भएका छन्।

दुईपटकका स्थानीय चुनावमा श्रेष्ठले पराजित गर्दै आएका एमालेका डिल्लीराज भुसालले यसपटक श्रेष्ठलाई पराजित त गरेका छन् नै, कांग्रेसका युवा नेता चन्द्र भण्डारीको चुनावी क्षेत्रमा कांग्रेसको गढ भत्किएको विश्लेषण गरिएको छ।

यस्तै नेपाल लोकतान्त्रिक फोरमका नेता रामजनम चौधरीको प्रभावक्षेत्र मानिने कैलालीको जोशीपुर गाउँपालिकामा कांग्रेसले प्रमुख पदमा जितेको छ।