कतारलाई दिइएको म्यादमा वृद्धि

  • 3 जुलाई 2017
दोहा तस्वीर कपीराइट AFP

साउदी अरेबिया र अन्य तीन अरब देशले खाडी राष्ट्र कतारलाई तिनीहरुको माग पूरा गर्नका लागि दिइएको समयसीमा ४८ घण्टाले बढाएका छन्।

समयभित्र आफ्ना मागहरु पूरा नभए कतारविरुद्ध थप प्रतिबन्धहरु लगाइने तिनीहरुको भनाइ छ।

कतारले अल जजिरा टेलिभिजन च्यानल बन्द गर्नुपर्ने लगायतका विभिन्न १३ बुँदे माग पूरा हुनुपर्ने यसअघिको समयसीमा आइतबार समाप्त भएको थियो।

कतारले पहिले नै ती माग अन्तर्राष्ट्रिय कानूनको अपमान भनी प्रतिक्रिया जनाइसकेको छ।

जवाफ

आतंकवादलाई समर्थन गरेको भन्ने आफ्ना छिमकी अरब राष्ट्रहरुको आरोपलाई अस्वीकार गर्दै आएको कतारले साउदी अरब, इजिप्ट लगायतका देशहरुले प्रस्तुत गरेका १३ बुंदे मागप्रति औपचारिक जवाफ प्रस्तुत गरेको बताइएको छ।

तर त्यसका विवरणहरु भने सार्वजनिक गरिएको छैन।

तस्वीर कपीराइट PA

कतारसमक्ष उसका छिमेकीहरुले राखेका मागहरुमा कतारस्थित टर्कीको सैनिक अखडा बन्द गरिनुपर्ने र इरानसँगको कूटनीतिक सम्बन्धको स्तरलाई घटाउनुपर्ने लगायतका छन्।

आफ्ना छिमेकीहरुको मागको औपचारिक जवाफ सोमबार कतारका विदेशमन्त्री शेख मोहम्मद बीन अब्दुल रहमान अल-थानीले कुवेतमा गएर कतारी अमिरको तर्फबाट कुवेतका अमिरलाई एक पत्रका रुपमा बुझाएका छन्।

मध्यस्थ

कुवेतले यो संकटमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ।

त्यसअघि प्रकाशित एउटा विज्ञप्तिमा कतारका वकिलहरुले ती मागको निन्दा गर्दै त्यसको अन्तर्राष्ट्रिय रुपमा पनि भर्त्सना हुनुपर्ने आह्वान गरेका छन्।

साउदी अरब, इजिप्ट, युएइ र बहराइनले कतारविरुद्ध अभूतपूर्व रुपमा कूटनीतिक तथा आर्थिक प्रतिबन्धहरु लगाएका छन्।

ती चार देशका विदेशमन्त्री वर्तमान अवस्थाको लेखाजोखा गर्न बुधबार बैठक बस्दैछन्।

आरोप

तस्वीर कपीराइट Getty Images

ती देशले कतारलाई आफूले आतंकवादी संगठन ठान्ने मुस्लिम ब्रदरहुड लगायतका इस्लामवादी समूहहरुलाई समर्थन गरेको, ती संगठनलाई कतारी राज्यको लगानी रहेको अल जजिरा टेलिभिजन च्यानलमा स्थान दिएको लगायतका आरोप लगाएका छन्।

कतारले ती आरोपको खण्डन गरेको छ।

प्रतिबन्धहरुका कारण आफ्नो २७ लाख जनसंख्याको भरणपोषणका लागि आयातहरुमा निर्भर कतार ठूलो दबाबमा परेको छ।

परिणाम स्वरुप टर्की र इरानले त्यहां खानेकुरा र अन्य सामाग्रीहरुको आपूर्तिमा वृद्धि गरेका छन्।