प्राकृतिक विपद्‌मा कम्तीमा १३ को मृत्यु

  • 3 जुलाई 2017

बाढी-पहिरो लगायतका प्राकृतिक विपद्‌मा परेर तीन दिनयता कम्तीमा तेह्रजनाको ज्यान गएको र केही हराइरहेको अधिकारीहरुले जनाएका छन्।

गृह मन्त्रालयका अनुसार आधा दर्जनभन्दा धेरै जिल्ला प्राकृतिक विपदबाट प्रभावित भएका छन्।

अधिकारीहरुले ती जिल्लामा राहत र उद्धारकालागि सम्बन्धित निकाय परिचालन गरिएको बताए।

मानवीय क्षतिबारे गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले भने, "१८ जना मानिसको मृत्यु भएको प्रारम्भिक अनुमान छ। ती मध्ये पाँचजना हराइरहेका छन्। सप्तरीमा पनि एकजनाको मृत्यु भएको कुरा आएको छ।"

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले त्यहाँ एकजना सुरक्षाकर्मीको ज्यान गएको बताए।

थप चिन्ता

बाढीले दर्जनौं घर डुबानमा परेका सप्तरीका गाउँहरुको जनजीवन सामान्य बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ।

काठमाण्डूस्थित जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग र स्थानीय निकायका अधिकारीले सोमबार बाढी प्रभावित ठाउँको स्थलगत अवलोकन गरेका छन्।

दुईवटा नदीले ठाउँ-ठाउँमा तटबन्ध कटान गरेकाले कतिपय ठाउँमा तत्काल निर्माण थालिने प्रमुख जिल्ला अधिकारीले कटुवालले बताए।

उनले भने, "तर, धेरै कटान भएको रुपनी गाउँपालिकाको एउटा ठाउँमा सुरक्षाकर्मीले सबै एकैपटक बनाउन सक्ने अवस्था छैन। स्थानीय वासिन्दाले सबै गरिदिन आग्रह गरेका छन्। तर आर्थिक वर्षको अन्त्यमा बजेट लगायतका कारणले सबै काम गर्न सकिँदैन कि भन्ने चिन्ता छ।"

पहाडी जिल्ला

पहाडी जिल्लाहरु पनि बाढी पहिरोको मारमा परेका छन्।

स्थानीय प्रशासनका अनुसार पर्यटकीय आकर्षणको जिल्ला कास्कीमा पहिरोमा परेर दुईजनाको ज्यान गएको र एकजनालाई बाढीले बगाएको छ।

पचासभन्दा बढी परिवार विस्थापित भएका छन् भने कैयौं घर जोखिममा छन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले भने, "गाउँका दुई-तीनवटा घर लच्किने-भत्किने, आँगन खस्ने, आँगन खस्दा घरभित्रसम्म चर्किने जस्ता घटना छिट्पुट रुपमा धेरै ठाउँमा भईरहेका छन्।"

उनका अनुसार सेतो गुम्बामा पहिरो जाँदा गुम्बाको भित्री भाग र गुम्बा तलका वस्ती जोखिममा छन्।

नेपालमा बाढी-पहिरो जस्ता प्राकृतिक विपद्‌मा परी वर्षेनी सरदर पाँचसय जनाको ज्यान जाने गरेको छ।