कानून नबने जनमत संग्रह गराउँछुः माक्रों

  • 4 जुलाई 2017
सत्र तस्वीर कपीराइट AFP/Getty Images

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले संसद् र मन्त्रिपरिषद्‍को पुनर्संरचना गर्ने योजना अघि सार्दै एक वर्षभित्र त्यससम्बन्धी कानूनहरु नबने जनमत संग्रह गराउने उद्घोष गरेका छन्।

दुवै सदन नेशनल असेम्बली र सिनेटको दुर्लभ संयुक्त सत्रलाई सम्बोधन गर्ने क्रममा उनले सुधारका योजना अघि सारेका हुन्।

युरोपेली संघ प्रशासनतन्त्रमा हराएको भन्दै राष्ट्रपति माक्रोंले त्यसलाई ब्युँताउन नयाँ पुस्तालाई अपील समेत गरे।

१७ औं शताब्दीमा लुइ १४ औंले बनाएको भव्य भेर्साइ दरबारमा दुवै सदनको संयुक्त सत्रको आयोजना गरिएको थियो।

शासन

संसद्को सत्र बहिष्कार गरेको उग्रवामपन्थी दलका नेता जां ल्युक मेलासोंले राष्ट्रपतिले राजाका रुपमा शासन गर्न खोजेको आरोप लगाएका छन्।

माक्रोंले अघि सारेका सुधारका योजना अनुसार सांसदको संख्या एक तिहाईले कटौती गरिनेछ।

तस्वीर कपीराइट EPA

उनले भनेका छन्, त्यसो गरिए थप प्रभावकारी सरकार बन्न पाउनेछ र फ्रान्स "पूर्णतः नयाँ बाटो"मा जानेछ।

माक्रोंले यसै वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचन र संसदीय चुनावमा भारी बहुमतले जिताएर फ्रान्सका मतदाताले सुधारका निम्ति आफूलाई जनादेश दिएको बताएका छन्।

जनमत संग्रह

एक वर्षभित्रमा संसद्ले आफ्ना योजनाहरुलाई अनुमोदन नगरे त्यसमाथि जनमत संग्रह गराउने राष्ट्रपतिको योजना छ।

डेढ घण्टा लामो सम्बोधनका क्रममा ३९ वर्षीय राष्ट्रपति माक्रोंले "फ्रान्सलाई सामूहिक सम्मानको बाटोमा फर्काउने" प्रतिज्ञा गरे।

उनले भने, "विगतमा प्रक्रियाले नतिजाभन्दा बढी, नीतिले पहलभन्दा बढी र सार्वजनिक कोषको खर्चले निष्पक्षताभन्दा बढी प्राथमिकता पाएका थिए।"

माक्रोंले नेशनल असेम्बलीका सांसदको संख्या ५७७ बाट घटाएर ३८५ र सिनेटका सदस्यको संख्या ३४८ बाट घटाएर २३२ पुर्याउने प्रस्ताव गरेका छन्।