उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको निन्दा

  • 4 जुलाई 2017
क्षेप्यास्त्र तस्वीर कपीराइट Reuters

चीन र रुसले उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई अस्वीकार्य भनेका छन् र उसलाई परमाणु हतियार कार्यक्रम स्थगित गर्न आह्वान गरेका छन्।

चिनियाँ राष्ट्रपति शि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा भेटेपछि संयुक्त रुपमा त्यस्तो वक्तव्य जारी गरेका हुन्।

मंगलबार जापानी सागरमा खसेको सो क्षेप्यास्त्रले विश्वमा जहाँसुकै रहेको निशानामा आक्रमण गर्न सक्ने भन्दै उत्तर कोरियाको सरकारी टेलिभिजनमा घोषणा गरिएको छ।

तर अमेरिका र रुसले भने सो क्षेप्यास्त्र मध्यम दुरीको भएको हुनाले त्यसले आफुलाई कुनै खतरा नभएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रतिबन्धलाई बेवास्ता गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणको संख्या बढाउँदै लगेको छ।

खतरा

चीन र रुसले प्योङयाङलाई क्षेप्यास्त्र र परमाणु हतियार सम्बन्धी कृयाकलाप बन्द गर्न आह्वान गरेका छन्।

प्योङयाङले ती क्षेत्रमा प्रगति गरेजस्तो देखिएको छ तर ती क्षेप्यास्त्रले लक्ष्य पहिल्याउन सक्ने वा त्यस्तो क्षेप्यास्त्रमा परमाणु अस्त्र जडान गर्ने क्षमता भने उत्तर कोरियासंग नभएको विज्ञहरुको विश्वास छ।

सोलस्थित बीबीसीका स्टीभन इभान्सका अनुसार सबभन्दा ठूलो प्रश्न भनेको के यो क्षेप्यास्त्रले अमेरिकामाथि प्रहार गर्न सक्छ भन्ने हो।

एकजना अमेरिकी भौतिकशास्त्री डेभिड राइटका अनुसार त्यस्तो क्षेप्यास्त्र ६ हजार ७०० किलोमिटर टाढासम्म जान सक्छ अर्थात त्यो उत्तर कोरियाबाट अमेरिकाको अलास्का राज्यसम्म पुग्न सक्छ, तर अन्य राज्यसम्म पुग्न सक्दैन।

विरोध

तस्वीर कपीराइट Reuters

रक्षाविद मेलिसा हानहामका अनुसार त्यस्तो परीक्षण गरेर उत्तर कोरियाले अलास्कालाई समेत जोखिममा पार्न सक्ने देखाएको छ र विश्वलाई चकित बनाएको छ।

तर पनि उत्तर कोरिया बाहिरका धेरैले भने क्षेप्यास्त्रको क्षमताबारे संशय नै राख्ने सम्भावना बढी छ र उनीहरुले सफलताको प्राविधिक प्रमाण माग्नेछन्।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए-इनले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई उत्तर कोरियाका विरुद्ध कदम चाल्न आह्वान गरेका छन्।

जापानले यस्तो उत्तेजक कृयाकलाप बारम्बार गर्नु अस्वीकार्य भएको बताएको छ।

प्रधानमन्त्री शिन्जो आबेले प्योङयाङमाथि दवाव दिनका लागि उनको देश, अमेरिका र दक्षिण कोरियासंग एकताबद्ध हुने बताएका छन्।