भारतका प्रधानमन्त्रीको प्रथम इजरेल भ्रमण

  • 4 जुलाई 2017
नरेन्द्र मोदी तस्वीर कपीराइट Getty Images

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इजरेलको भ्रमण आरम्भ गरेका छन्, कुनै पनि बहालवाला भारतीय प्रधानमन्त्रीले इजरेलको भ्रमण गरेको यो पहिलो पटक हो।

इजरेल पुग्ने बित्तिकै बोल्दै प्रधानमन्त्री मोदीले दुबै देश मिलेर आपसी समृद्धि निर्माण र आतंकवाद विरुद्धको संघर्षमा पुर्याउन सक्ने सहयोगका बारे कुरा गरेका थिए।

दुबै देशले कृषि, प्रतिरक्षा र अन्तरिक्ष प्रविधिका क्षेत्रमा साझेदारीको घोषणा गर्ने अनुमान गरिएको छ।

भारत र इजरेलबीच सन् १९९२ मा मात्र दौत्य सम्बन्ध स्थापित भएको थियो र हालसम्म कुनै पनि भारतीय प्रधानमन्त्रीले सो देशको भ्रमण गरेका थिएनन्।

यो हिसाबले पनि नरेन्द्र मोदीको इजरेल भ्रमण ऐतिहासिक बनेको छ।

असामान्य

भारतका प्रधानमन्त्रीको भ्रमणलाई इजरेलले दिएको उच्च महत्वलाई झल्काउने असामान्य कदमका रुपमा इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले प्रधानमन्त्री मोदीको तीन दिने भ्रमणका क्रममा आयोजित थुप्रै कार्यक्रम र समारोहहरुमा उनीसंगै सहभागी हुने भएका छन्।

बीबीसीका दक्षिण एसिया सम्पादक चार्ल्स ह्याभिल्याण्ड भन्छन्, शितयुद्धको समयमा दिल्ली मस्को नजिक थियो र रुसजस्तै भारतपनि प्यालेष्टिनी राज्यको बलियो समर्थक रहेको थियो।

तस्वीर कपीराइट Getty Images

तर उनी भन्छन्, समय बित्दै जांदा यो सम्बन्धमा परिवर्तन आएको छ।

सहयोग

इजरेलले अर्बौं डलर बराबरको हतियार भारतलाई बेचेको छ र विगतमा चीन र पाकिस्तानसंगको लडाईंका बेला इजरेलले भारतलाई प्रतिरक्षा सहयोग दिएको थियो।

अब एकजना हिन्दु राष्ट्रवादी प्रधानमन्त्री सत्तामा आएका बेला भारत र इजरेलबीचको सम्बन्ध पूर्णत: सामान्य अवस्थामा पुगेको छ।

इजरेली पर्यवेक्षकहरु भन्छन्, दुबै देशबीच इस्लामिक कट्टरपन्थ र चिनीयां प्रभाव विस्तारको अवस्थाप्रति समान चिन्ता विद्यमान छ।

भारतका मुसलमान राजनीतिज्ञहरुले भने प्रधानमन्त्री मोदीले प्यालेष्टिनी प्रशासनको मुख्यालय रमल्लाहको भ्रमणलाई आफ्नो एजेन्डामा नराखेको भन्दै उनको कडा आलोचना गरेका छन्।

प्रतिरक्षा प्रणाली

भारतले इजरेलबाट ड्रोन, रेडार, साइबर सुरक्षा तथा सन्चार प्रणालीहरु किनेको छ भने दुबै देशले मिलेर हवाइ प्रतिरक्षा प्रणाली पनि बनाएका छन्।

प्रतिरक्षा क्षेत्रबाहेक इजरेलले भारतमा कृषि उत्पादकत्व तथा खाद्य सुरक्षा बढाउनमा पनि सहयोग गरिरहेको छ।

बुधबार दुबै नेताहरुले इजरेल संग्रहालय तथा एउटा कृषि परियोजनाको संगै भ्रमण गर्ने अपेक्षा गरिएको छ।