के अमेरिकाले प्रतिरक्षा गर्न सक्ला?

  • 5 जुलाई 2017
उत्तर कोरिया तस्वीर कपीराइट Reuters

उत्तर कोरियाको पछिल्लो बलिस्टिक क्षेप्यास्त्रको क्षमता र त्यसले मार हान्न सक्ने वास्तविक दूरी जतिसुकै भएपनि पारमाणविक अस्त्र बोक्न सक्ने क्षेप्यास्त्र विकास गर्ने आफ्नो उद्देश्यतर्फ उसले ठोस उपलब्धि हासिल गरिरहेको र अमेरिकी भूभागलाई खतरा निम्त्याउन सक्नेमा सक्षम रहेकोमा कुनै शंका छैन।

"पारमाणविक अस्त्र बोक्न सक्ने" भन्ने उक्त शब्दावली महत्त्वपूर्ण छ।

प्योङयाङले क्षेप्यास्त्रको अघिल्लो भागमा अटाउने गरी पारमाणविक विस्फोटक वस्तुलाई सानो आकारमा ढाल्नुपर्नेछ।

साथै पृथ्वीको वायुमण्डलीय तहमा पुन: प्रवेश गर्दा सामना गर्नुपर्ने अवरोधबाट त्यसलाई जोगाउनुपर्नेछ।

हामीलाई ठ्याक्कै यो कुरा थाहा छैन कि पारमाणविक कार्यक्रमको दिशामा ऊ अहिले कुन अवस्थामा छ।

तर यो कुरा सम्भव छ कि राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालसम्ममा उसले आफ्नो लक्ष्य हासिल गर्न सक्छ।

सामर्थ्य

त्यसले उत्तर कोरियाली आक्रमणबाट आफूलाई जोगाउन सक्ने अमेरिकी सामर्थ्यतर्फ ध्यानाकर्षण गराइदिएको छ।

अमेरिकाले बलिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा थुप्रै रकम खर्चिने गरेको छ।

क्षेप्यास्त्र परीक्षणको अवस्थिति पत्ता लगाउन र पछ्याउन सक्ने भूउपग्रह 'सेन्सर' र 'रिले'को विश्वव्यापी सञ्जाल छ।

क्षेप्यास्त्र रोक्न सक्ने प्रणाली पनि छ।

तर आलोचकहरु अमेरिकी प्रणाली विश्वसनीय नभएको ठान्छन्।

ट्रम्प प्रशासनले समग्र कार्यक्रमको समीक्षा गरिरहेको छ।

नयाँ जमानाका प्रतिरोधी क्षेप्यास्त्रहरुको विकास भइरहेको छ।

तर निकट भविष्यमा सम्भावित उत्तर कोरियाली खतरासँग जुध्न थोरै विकल्प उपलब्ध हुनेछन्।

तस्वीर कपीराइट Reuters
Image caption दक्षिण कोरियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापना गरिएको छ

इतिहास

राष्ट्रपति रोनल्ड रेगनले कल्पना गरेको "स्टार वार"बाट हामी धेरै टाढा छौँ।

रेगनले अमेरिका र उसका सहयोगी मुलुकमा क्षेप्यास्त्र प्रतिरोधी ढाल निर्माण गर्ने आशा गरेका थिए।

ती दिनहरुमा क्षेप्यास्त्र प्रतिरक्षालाई धेरैले अस्थिरता निम्त्याउने रुपमा हेर्ने गर्थे।

त्यसै कारणले होला शीतयुद्धकालीन सन्धिले त्यसमाथि व्यापक रुपमा प्रतिबन्ध लगाएको थियो।

क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका कारण कुनै चेतावनी विना आक्रमण हुने सम्भावना बढाइदिन्छ।

कसैले पारमाणविक आक्रमण गरे त्यसलाई रोक्न सक्ने वा जवाफमा क्षति पुर्याउन सक्ने भन्ने विश्वासिलो आधार दिएर शत्रु पक्षलाई शुरुमै आक्रमण गर्नबाट हच्काउने 'डेटेरेन्स'को प्रभावकारिता पनि यसले घटाइदिन्छ।

मिश्रित नतिजा

तस्वीर कपीराइट AFP/Getty
Image caption क्षेप्यास्त्रविरुद्ध इजरेली प्रतिरक्षा प्रणाली प्रभावकारी देखिएको छ

आलोचकहरुका अनुसार अमेरिकाको आफ्नै प्रतिरक्षा प्रणाली सोचेजतिको प्रभावकारी छैन।

परीक्षणबाट मिश्रित नतिजा देखिएको छ।

वास्तविक अवस्था झल्काउने गरी तिनीहरुको बृहत् परीक्षण पनि नगरिएको भन्दै पटकपटक आलोचना हुने गरेको छ।

अमेरिकी कमाण्डरहरुले पनि आफूहरुको प्रतिरक्षा प्रणाली पूर्ण रुपमा क्षेप्यास्त्र प्रतिरोधी नभएको स्वीकार्ने गरेका छन्।

अमेरिकी राष्ट्रपतिले उत्तर कोरिया र उसको बढ्दो क्षेप्यास्त्र विकासबारे जेसुकै निर्णय गरुन् समय भने घर्किदैँ गएको छ।

उनले एउटा विकल्प रोज्न सक्छन् र त्यो हो, अमेरिकी प्रतिरक्षालाई सुदृढ बनाउने।

जस्तो कि क्षेप्यास्त्र आक्रमणविरुद्धको प्रतिरक्षा प्रणाली मजबुत बनाउन उनले दक्षिण कोरियामा क्षेप्यास्त्र रोक्न सक्ने क्षेप्यास्त्र परिचालन गरेका छन्।