कतार संकट: चार मुलुकको कायरो बैठक

  • 5 जुलाई 2017
माग तस्वीर कपीराइट Reuters
Image caption कतारी विदेश मन्त्रीले मागहरु "अभिव्यक्ति स्वतन्त्रता समाप्त गर्ने" रहेको बताएका छन्

साउदी अरेबिया, युनाइटेड अरब एमिरेट्स, बहराइन र इजिप्टका विदेश मन्त्रीहरु कतारसँगको उनीहरुको मतभेदबारे छलफल गर्न कायरोमा जम्मा भएका छन्।

उनीहरुले इरानसँग अति नजिक भएको र जिहादी समुहलाई समर्थन गरेको आरोप लगाउँदै कतारसँग एक महिना अघि हवाइ, जमिन र सामुन्द्रिक सम्पर्क विच्छेद गरेका थिए।

कतारले ती आरोपहरु अस्वीकार गर्दै आएको छ।

कतारले ती देशहरुका मागलाई अयथार्थवादी भन्दै आएको छ।

भत्सर्ना

मागमा कतारको टेलिभिजन प्रसारक अल जजिरा बन्द गर्नुपर्ने पनि रहेको छ।

इजिप्टमा ती राष्ट्रका विदेश मन्त्री भेला हुँदा कतारका विदेशमन्त्रीले भने उनको देश विरुद्ध गरिएको कारवाहीको भत्सर्ना गरेका छन्।

ती देशहरुले कतारलाई दिएको समयसीमा बुधबार अन्त्य हुँदैछ। त्यसपछि कतारमाथि थप प्रतिबन्ध लगाइने बताइएको छ।

तेल र ग्यासको धनी राष्ट्र कतारको २७ लाख जनसंख्या उसका छिमेकीहरुको प्रतिबन्धका कारण समस्यामा परेको छ।

यस अघि दिइएको १० दिने समयसीमा गत सोमबार समाप्त भएपछि कतारलाई थप दुई दिन दिइएको थियो।

दोहाका अधिकारीहरुले ती मागहरुप्रति प्रतिक्रिया दिएका बताइएको छ तर त्यसको विस्तृत विवरण खुलाइएको छैन।

'अयार्थवादी'

मंगलबार कतारी विदेश मन्त्री शेख मोहम्मद बीन अब्दुल रहमान अल थानीले मागहरु अयथार्थवादी रहेको बताएका थिए।

उनले भनेका थिए, "यो आतंकवादको कुरा होइन यो त अभिव्यक्ति स्वतन्त्रता बन्द गर्ने कुरा हो।"

तर चार मुलुकहरुले उनीहरुले आतंककारी भन्ने मुश्लिम ब्रदरहुडलाई कतारले समर्थन गरेको र उनीहरुलाई कतारी राज्यको पैसामा चलेको अल जजिरामा टेलिभिजनमा ठाउँ दिएको आरोप लगाएका छन्।