'मन्त्रालय बाँडफाँडको खाका तयार'

  • 5 जुलाई 2017
सपथ समारोह तस्वीर कपीराइट Reuters

सत्ताधारी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँडको टुंगो बिहीबार लगाउने सहमति भएको छ।

दुई दलीय कार्यदलको बैठकले तयार पारेको मन्त्रालय बाँडफाँडको खाकालाई आफ्ना शीर्षस्थ नेतासँगको छलफलबाट अन्तिम रुप दिने कार्यदलका एक नेताले जानकारी दिए।

संघीय समाजवादी फोरम नेपाल पनि सरकारमा सहभागी हुने सत्तापक्षको आशा छ।

दोश्रो चरणको स्थानीय चुनावको मतगणना अन्तिम चरणमा पुगेका बेला सत्तापक्ष मन्त्रिमण्डल विस्तारको गृहकार्यमा जुटेको हो।

फोरमप्रति चासो

त्यसको आधार तयार गर्न कांग्रेसबाट बिमलेन्द्र निधि र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा र वर्षमान पुनले बुधबार छलफल गरेका छन्।

बैठक सहमति नजिक पुगेको जनाउँदै माओवादी नेता पुनले भने, "शीर्षस्थ नेतासँग बिहीबार छलफल गरेर मन्त्रालय, त्यसको संख्या र सरकारमा सहभागी हुने दलको टुंगो लगाएपछि मन्त्रीको नाम सिफारिस गर्छौं।"

कार्यदलमा रहेका कांग्रेस नेताले कुनै प्रतिक्रिया दिन चाहेनन्।

आन्दोलनमा रहेकै बेला स्थानीय चुनावमा भाग लिने निर्णय गरेको संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने सम्भावनाबारे धेरैको चासो देखिन्छ।

तस्वीर कपीराइट Reuters

माओवादी नेता पुनले त्यो सम्भावना अस्वीकार गरेनन्।

त्यसबारे संघीय समाजवादी फोरम नेपालका संसदीय दलका उपनेता लालबाबु राउतको भनाइ थियो, "पार्टीमा धेरै किसिमका विचार हुनु स्वाभाविक हो। हाम्रो पार्टीमा पनि सरकारमा सहभागी हुनुपर्ने मत देखिन्छ। तर अन्तिम निर्णय लिने पार्टीले हो।"

मन्त्रीको टुंगो

सरकारलाई समर्थन गरेको नेकपा संयुक्तले मिथिला चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने औपचारिक निर्णय गरिसकेको छ।

यसैसाता मन्त्रिमण्डल विस्तार हुने जानकारी पाएपछि उक्त निर्णय लिएको बताउँदै पार्टी अध्यक्ष गणेश साहले भने, "यही हप्ता मन्त्रिमण्डल विस्तार गर्ने भनिएको छ। कांग्रेसले निर्णय गरे लगत्तै विस्तार हुन्छ।"

माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई मन्त्री छनौट गर्ने जिम्मेवारी दिएको छ।

माओवादीका एक वरिष्ठ नेताले अध्यक्ष प्रचण्ड गिरिराजमणि पोखरेललाई स्वास्थ्य, महेन्द्रबहादुर शाहीलाई उर्जा, शिवकुमार मण्डललाई आपूर्ति, श्यामकुमार श्रेष्ठलाई सामान्य प्रशासन, आशा खनाललाई महिला, बालबालिका तथा समाज कल्याण र सन्तु थारुलाई कृषि वा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी दिने मनस्थितिमा पुगेको जानकारी दिए।

मन्त्रालय बाँडफाँड र पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनले प्रचण्डको उक्त रोजाईमा फेरबदल आउनसक्ने पनि जनाइएको छ।

तर माओवादी नेता पुनले मन्त्रालय नै बाँडफाँड हुन बाँकी रहेकाले मन्त्री छनौट भइनसकेको बताए।