राजपाद्वारा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

  • 7 जुलाई 2017
राजपा गठन

केही दिनयता देखिएको विवाद समाधान गर्दै राष्ट्रिय जनता पार्टि राजपा नेपालले शुक्रबार निर्वाचन आयोगमा दल दर्ताका निम्ति निवेदन दिएको छ।

दल दर्ता प्रक्रिया थाल्दैमा आफ्ना माग पूरा नभएसम्म चुनावमा भने भाग नलिने सो पार्टिका नेताले बताएका छन्।

विधान विवाद

पार्टिको विधानमा नै गजेन्द्रनारायण सिंह लगायत तराई मधेश आन्दोलनका अगुवाहरुको नाम उल्लेख गरिनुपर्ने केही नेताले अडान राखेपछि उत्पन्न गतिरोध तोड्दै शुक्रबार राजपाले आफ्नो विधान, घोषणापत्र तथा अन्य कागजात निर्वाचन आयोगमा पेश गरेको छ।

शुक्रबार भएको सहमति अनुसार घोषणापत्रमा अगुवाहरुको योगदान वर्णन गरिएको तर विधानमा केही पनि उल्लेख नगरिएको बताइएको छ।

खासगरि राजपाका अध्यक्षमण्डलका सदस्य अनिल झाले विधानमै गजेन्द्रनारायण सिंहको योगदान उल्लेख हुनुपर्ने भन्दै आएका थिए।

तर अब यसमा कुनै विमति बाँकी नरहेको राजपाका एक महासचिव मनिष सुमनले जानकारी दिएका छन्।

उनले भने, "घोषणापत्रमा हामीले सबै ऐतिहासिक व्यक्तित्व तथा सबै पार्टिका पछिल्लो इतिहास समेटेका छौं। विधानमा ती विषय राख्नुपर्ने आवश्यकता देखिएन, त्यसैले राखेका छैनौं। अब यसप्रति कुनै विमति छैन। ६ जना नै अध्यक्षले त्यसलाई स्वीकार गरेर दर्ता निवेदन गरिएको छ।"

कानुनी अड्चन

राजपाले छाता चुनाव चिन्हको पनि माग गरेको छ।

तर विगतमा चुनावका निम्ति संविधानको धारा २७१ बमोजिम दल दर्ताको आह्वान गर्दा राजपाले भाग नलिएकाले अब उसलाई नयाँ चिन्ह दिन विद्यमान कानुनले नमिल्ने निर्वाचन आयोगका एकजना आयुक्त ईश्वरी पौडेलले बताएका छन्।

"सम्बन्धित निर्वाचन प्रक्रिया पूरा भइसकेकाले त्यही स्थानीय तहको चुनावका लागि वहाँहरुले नयाँ मागेको निर्वाचन चिन्ह दिन मिल्दैन। संविधान अनुसार वहाँहरु राजपा नै भएर अनि मागेकै चिन्ह लिएर चुनाव लड्न चाहिं अहिलेको कानुनले मिल्दैन," आयुक्त पौडेलले बताए।

आफ्नै नाम राजपा नेपाल र छाता चुनाव चिन्ह लिने हो भने त्यसका निम्ति कुनै राजनीतिक सहमति भएर कानुन संशोधन हुनुपर्ने बताइएको छ।

माग यथावत

तर आफ्नो नाम र चिन्हका निम्ति उत्सुकतापूर्वक दल दर्ताको निवेदन दिए पनि राजपाले संविधान संशोधन सहितका आफ्ना पुराना माग पूरा नभएसम्म प्रदेश नम्बर दुईको स्थानीय तहको बाँकी चुनावमा भाग नलिने नेता सुमनले बताए।

"हामीले अगाडी सारेका संविधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याका आधारमा वृद्धि, मुद्दा फिर्ता, शहिद घोषणा, क्षतिपूर्तिजस्ता माग पूरा नभएसम्म यथास्थितिमै हामी चुनावमा भाग लिंदैनौं," सुमनको भनाइ थियो।

राजपा नेपाल तराई केन्द्रित विभिन्न ६ वटा दल गाभिएर बनेको हो।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम तथा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम जस्ता अन्य तराई केन्द्रित दलले स्थानीय चुनावमा भाग लिइसकेका भएपनि राजपाले बहिष्कार गर्दै आएको छ।

उक्त सन्दर्भमा राजपाले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनुलाई कतिपय विश्लेषकले राजनीतिक गाँठो फुकाउने दिशामा सकारात्मक मानेका छन्।