जी२०: ट्रम्प र पुटिन भेटघाट

  • 7 जुलाई 2017
पुटिन ट्रम्प भेटघाट तस्वीर कपीराइट Reuters

जर्मनीमा आयोजित जी ट्वेन्टी शिखर बैठकको छेउछाउ पारेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका रुसी समकक्षी भ्लादिमिर पुटिनसंग पहिलोपल्ट भेटवार्ता गरेका छन्।

पत्रकारहरुसमक्ष छोटो प्रतिक्रिया जनाउंदै राष्ट्रपति ट्रम्पले राष्ट्रपति पुटिनलाई भेट्न पाउंदा आफूलाई सम्मानित अनुभव भएको बताए।

उनले आफूहरुबीच राम्रो कुराकानी भएको र त्यो जारी रहने पनि बताए।

यी वार्ताहरुबाट अमेरिकी-रुसी सम्बन्धमा सकारात्मक परिणाम देखिने उनले विश्वास व्यक्त गरे।

रुसी राष्ट्रपतिले पनि त्यसमा सहमति जनाए।

उनले जटिल अन्तर्राष्ट्रिय समस्याहरुका बारे छलफल गर्न व्यक्तिगत भेटघाट आवश्यक रहेकोमा जोड दिए।

चिसोपना

दुई देशबीचको सम्बन्धमा रुसले क्राइमियालाई आफूमा गाभेको, सिरियाली राष्ट्रपतिलाई प्राप्त रुसी समर्थन र अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपका आरोपका माझ चिसोपना रहंदै आएको थियो।

जी ट्वेन्टी शिखर बैठकका क्रममा भएको दुई विश्व नेताहरुबीचको महत्वपूर्ण बैठकमा दुवै देशका विदेशमन्त्रीहरुको पनि उपस्थिति थियो।

यो वर्षको जी ट्वेन्टी शिखर बैठकको आयोजक जर्मनीकी चान्सलर एंगेला मर्केलले महत्वपूर्ण विश्वव्यापी चुनौतिहरुका हकमा सम्झौता गर्न विश्व नेताहरुलाई आह्वान गरेकी छन्।

उनले जर्मन शहर ह्यामबर्गमा भेला भएका समकक्षी विश्व नेताहरुलाई सम्बोधन गर्दै आफ्ना सिद्धान्तहरुलाई कायमै राख्दै र मतभिन्नताहरु व्यक्त गरेरै भएपनि त्यस्ता सम्झौताहरु गर्न सकिने बताइन्।

उनले भनिन्,"हामीले ठूला बलिदानहरु गर्न पर्दैन, केही मुद्दाहरुमा विमति हुंदा हुंदै पनि हामी कुनै सहमतिमा पुग्न सक्छौं"

प्राथमिकता

तस्वीर कपीराइट AFP

चान्सलर मर्केलले उक्त सम्मेलनको प्राथमिकताहरु प्रस्तुत गरिन् जसमा व्यापार, जलवायु परिवर्तन, उर्जा, महिला अधिकार र अफ्रीका पनि परेका छन्।

जर्मनीको ह्यामबर्ग शहरमा आयोजित उक्त शिखर सम्मेलन अघि बोल्दै युरोपेली आयोगका अध्यक्ष डोनल्ड टुस्कले युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरुको ठूलो संख्यालाई रोक्न अन्तर्राष्ट्रिय ऐक्यवद्धता हुनु पर्ने बताएका थिए।

एउटा पत्रकार सम्मेलनमा बोल्दै मानव तस्करहरु विरुद्ध क्रुर संघर्ष गर्नु पर्ने भन्दै उनले जी ट्वेन्टी राष्ट्रहरुले तिनीहरु विरुद्ध प्रयोग गर्ने उपायहरुको समर्थन गर्नु पर्ने बताएका थिए।

"तिनीहरुको सम्पति रोक्का गर्ने र तिनीहरुका यात्रामा प्रतिबन्ध लगाइनु पर्ने जस्ता विषय ती प्रस्तावमा छन्। विश्वव्यापी स्तरमा कम्तीमा पनि यतिसम्म गर्न सकिन्छ," टुस्कले भने।

घाइते

तस्वीर कपीराइट Reuters

ह्यामबर्गको प्रहरीका अनुसार जी ट्वेन्टी शिखर बैठकका बेला विरोध प्रदर्शन गर्नेहरुको भिडसंगको झडपमा कम्तीमा एकसय साठीजना प्रहरीहरु घाइते भएका छन्।

त्यस क्रममा ६० जना भन्दा बढीलाई गिरफ्तार गरिएको छ।

छिटपुट हिंसाका माझ भैरहेको विरोध प्रदर्शनका क्रममा भिड नियन्त्रण गर्न प्रहरीले अष्ट्रियासम्म सहयोगका लागि आह्वान गरेको छ।

अहिले नै त्यहाँ बीस हजार प्रहरीहरु परिचालन गरिएको छ।