ट्रम्प र पुटिनबीच चुनाव ह्याकिङबारे बहस

  • 8 जुलाई 2017
तस्वीर कपीराइट .
Image caption रुस र अमेरिकाका राष्ट्रपतिहरुबीच पहिलो भेट जर्मनीको ह्यामबर्गमा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ह्यामबर्गमा आयोजित जी ट्वेण्टी शिखर सम्मेलनका अवसरमा पहिलो प्रत्यक्ष कुराकानी भएको छ।

उनीहरुले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा आरोपित रुसी हस्तक्षेपबारे छलफल गरेका छन्।

अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले दुईजनाबीच महवपूर्ण कुराकानी भएपनि चुनावमा के भएको थियो भन्नेबारे यी दुई मुलुकहरु सहमतिमा पुग्लान् भन्ने प्रष्ट नभएको बताए।

रुसी विदेश मन्त्री सेर्गेइ लावरोवले ट्रम्पलाई राष्ट्रपति निर्वाचित गर्न रुस संलग्न नरहेको भन्ने पुटिनले आश्वस्त तुल्याउन खोजेको कुरालाई ट्रम्पले स्वीकार गरेका बताए।

स्वीकार

बीबीसीका उत्तर अमेरिका संपादक भन्छन्- यदि लावरोवको भनाइ ठिक भए ट्रम्पले आफ्नो गुप्तचर सेवाको भन्दा पुटिनका भनाइ स्वीकार गरेका छन्।

टिलरसनले भने," दुई राष्ट्रपतिहरु असाध्यै छिटो एकअर्कासँग घुलमिल भए र उनीहरुबीच "सकारात्मक भावना" देखियो।

अमेरिका र रुसबीचको छलफलको लवज र परिणामलाई लिएर मस्कोमा महत्वपूर्ण प्रगति हासिल भएको भन्दै प्रशंसा भइरहेको छ।

रुसी संसदको विदेश मामिला समितिका प्रमुखले पछिल्लो भेटवार्ताले अमेरिका र रुसबीचको सम्बन्ध बिग्रने अवस्था अब अन्त्य हुने भविष्यवाणी गरेका छन्।

खुसी

बीबीसीका मस्को संवाददाता स्टिभ रोजनवर्ग भन्छन्, "रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले चाहे जस्तै खालको अमेरिकी राष्ट्रपति पाएका छन् जो टकराव भन्दा पनि आपसी लाभ हुने गरी सहकार्यमा केन्द्रित हुन चाहान्छन्। एक जना त्यस्ता अमेरिकी नेता जसले आफ्नो रुसी समकक्षीलाई दुई घण्टा प्रजातन्त्रको बारेमा प्रवचन दिनेछैनन् तर मिलेर काम गर्न प्रयास गर्नेछन्।"

दुई नेताबिच सिरिया, युक्रेन र साइबर सुरक्षाका विषयमा मिलेर काम गर्ने सहमति भएको छ।

क्रेमलिनले यी सहमतिहरुलाई अमेरिकासँग अझ व्यापक सहकार्य गर्ने र पश्चिमा प्रतिबन्धहरु खारेज गराउने आफ्नो मुख्य लक्ष्य प्राप्तिको पहिलो कदमका रुपमा हेर्नेछ।

तर के बिर्सनुहुँदैन भने अघिल्लो सालको राष्ट्रपतीय चुनावमा उनको टोली र मस्कोबीच साँठगाँठ रहेको आरोपका कारण देशभित्र राष्ट्रपति ट्रम्पमाथि तीव्र दवाव परिरहेको छ।

त्यही भएर अहिले नै उनले रुसका चाहनाहरु पुरा गर्न सक्छन् भनेर ठान्नु हतारो हुनेछ।