गंगा-यमुना नदी ‘सजीव होइनन्’

  • 8 जुलाई 2017
गंगा तस्वीर कपीराइट AFP

भारतको सर्वोच्च अदालतले सो देशका दुई नदीलाई जीवित प्राणीसरह व्यवहार गर्न तल्लो अदालतले गरेको निर्णय उल्ट्याइदिएको छ।

गत मार्च महिनामा उत्तराखण्डको उच्च अदालतले गंगा र यमुना नदीलाई मानवसरहको स्थान दिएको थियो।

उच्च अदालतको निर्णय असाध्यै सम्मान गरिएका तर उच्च प्रदूषणमा परेका नदीहरुको संरक्षण गर्न सहयोगी हुने ठानिएको थियो।

तर उत्तराखण्ड सरकारले उक्त मुद्दा सर्वोच्चमा लगेको थियो।

नदी

Image caption गंगा नदी भारतीय जीवनशैलीसँग नजिकबाट जोडिएको बताइन्छ।

उसले उच्च अदालतको निर्णय कानूनी रुपमा कार्यान्वयन गर्न नसकिने बताएको थियो।

गंगा माताका रुपमा हिन्दुहरुले पूजा गर्ने गंगा नदी भारतभर गरी पचास करोड नागरिकलाई प्राण दिने नदीका रुपमा रहँदै आएको छ।

गंगाकै शाखा नदीका रुपमा रहेको यमुना र गंगा देशका दुई मुख्य नदी हुन् र उनीहरु भारतीय धर्म र जीवनशैलीसँग नजिकबाट जोडिएका छन्।

तर औद्योगिक फोहोर, ढल र अरु कारणले दुवै नदी असाध्यै प्रदूषित छन्।

तस्वीर कपीराइट Phanindra Dahal

प्रदूषण रोक्ने कानून त छन् तर ती कानून या अपुग छन् या त कार्यान्वयन फितलो छ।

त्यही भएर गएको मार्च महिनामा नदीको स्तर सुधार गर्ने उद्देश्यसहित तिनीहरुको हैसियत मानवसरहको भएको आदेश ती नदीको उद्गमस्थल रहेको उत्तराखण्डको उच्च अदालतले दिएको थियो।

अदालतले ती दुइ नदीमा प्रदूषण गर्नु वा क्षति पुर्याउनुलाई कानूनी रुपमा मानिसमाथि आक्रमण गर्नु वा हत्या गर्नुसँग तुलना गरेको थियो।

उक्त आदेशले जनस्तरबाट व्यापक प्रतिक्रियाहरु पाएको थियो।

तर उत्तराखण्डको सरकारले अदालतको निर्णय व्यवहारिक नभएको र त्यसले बाढी र डुबानजस्ता प्रकोपसँग जुध्नुपर्ने समयमा समेत कठिन कानूनी अवस्था निम्त्याउनसक्ने तर्क गरेको थियो।