संशोधनका लागि दुई तिहाइ पुर्याउने प्रयास

  • 8 जुलाई 2017
प्रयास तस्वीर कपीराइट Deuba's Twitter

असन्तुष्ट राजपा नेपाललाई मनाउन असारभित्रै संविधान संशोधनको वचन दिएको भनिएका प्रमुख सत्तारुढ दलहरुले संसद्‍मा आवश्यक दुई तिहाइ जुटाउने प्रयास थालेको नेताहरुले बताएका छन्।

संविधान संशोधनमा सहयोग गर्ने शर्तमा सक्दो धेरै दललाई सरकारमा सहभागी गराउने रणनीतिमा सत्तारुढ दलहरु देखिन्छन्।

संशोधनमा सघाउनेबारे विपक्षी एमालेसँग पनि छलफल गर्ने मनस्थितिमा रहेका उनीहरुले एमालेले सहयोग नगरे ऊ बिना नै दुई तिहाइ पुर्याउन प्रयास गर्ने बताएका छन्।

शुक्रबार राजपा नेपालसमक्ष संविधान संशोधन प्रस्ताव अघि बढाउने प्रतिबद्धता जनाएको भोलिपल्टै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उक्त प्रस्तावमा सहमति जुटाउने प्रयत्नस्वरुप राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासँग छलफल गरेका छन्।

मनस्थिति

प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले संसद्‍मा दर्ता गरिसकेको संशोधन प्रस्ताव पारित गराउनका लागि दुई तिहाइ जुटाउन धेरैभन्दा धेरै दललाई सरकारमा ल्याउन सत्तारुढ दलहरु प्रयासरत देखिन्छन्।

संशोधन प्रस्तावमा विरोध जनाइरहेको एमालेलाई पनि मनाउन प्रयत्न गर्ने तर सहमत नभए ऊ बिना नै संशोधनका लागि संख्या पुर्याउने मनस्थितिमा उनीहरु देखिन्छन्।

माओवादी केन्द्रका नेता वर्षमान पुनले भने, "अहिले प्रधानमन्त्री र सत्तारुढ गठबन्धनको तर्फबाट शीर्ष नेतृत्वले संविधान संसोधनको पहल गर्नुभएको छ। नेकपा एमाले पनि यसमा सहमत हुनैपर्ने हो। त्यसो हुन नसक्दा पनि अरु जे जति सहमत पक्ष छन् उनीहसँग कुरा गर्दै संशोधनलाई प्रक्रियामा लैजाने भन्ने सरकारले सोच बनाएको छ।"

तस्वीर कपीराइट Reuters

तर यसअघि सीमाङ्कन लगायतका विषयलाई लिएर संसोधनबारे फरक मत राख्दै आएको एमाले यथास्थितिमा उक्त संशोधनलाई समर्थन गर्ने पक्षमा देखिंदैन।

हाल संसद्‍मा रहेको प्रस्तावलाई फिर्ता लिएर नयाँ ढङ्गले प्रक्रिया आरम्भ गरेमा आफूहरु छलफलका लागि तयार रहेको एमाले उपाध्यक्ष भिम रावलले बताए।

कमजोर

उनले भने, ''अहिले सरकारले जुन प्रस्तावित संशोधनका चारवटा विषयले नेपाल र नेपाली जनताको अधिकारलाई सुदृढ गर्नुको सट्टा त्यसलाई कमजोर पार्छ भनेर हामीले भन्दै आएका छौँ। अहिले सरकारमा भएकाहरुले पेलेर जानसक्छौँ भनेर यदि सोचेका छन् भने अब त्यो सोच वस्तुवादी होला भनेर कसैले कसरी सोच्न सक्छ?''

संसद्‍मा हाल कायम रहेको सांसद संख्या ५९२ मध्ये संसोधन पारित गर्नका लागि दुई तिहाइ अर्थात् ३९५ मतको आवश्यकता पर्नेछ।

एमालेले असहयोग गरे त्यो संख्या पुर्याउन एक सीट भएका कतिपय साना दलको सहयोग समेत आवश्यक पर्नेछ।

सँगसँगै सत्तारुढ दलहरुसँग शनिबार छलफलमा बसेको चौथो ठूलो शक्ति राप्रपा र स्थानीय चुनावलाई लिएर दुई कित्तामा बाँडिएका संघीय समाजवादी फोरम र राजपा नेपालको पनि साथ चाहिनेछ।

राप्रपाका नेता पशुपतिशमशेर राणाका अनुसार सरकारलाई सहयोग गर्न उनको दल सकारात्मक छ र शायद यो संकेतले सत्तारुढ दलहरुलाई हौस्याएको हुनुपर्छ।