दक्षिण-पश्चिमी सिरियामा युद्धविराम

  • 9 जुलाई 2017
युद्ध तस्वीर कपीराइट AFP

दक्षिण-पश्चिमी सिरियामा संयुक्त राज्य अमेरिका र रुसले समर्थन गरेको युद्धविराम सम्झौता आजदेखि लागू भएको छ।

स्थानीय पर्यवेक्षकहरुले युद्धविराम सम्झौता लागू भएपछि हवाई हमला वा भिडन्तको कुनै घटना नभएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर म्याकमास्टरले सिरियाली गृहयुद्ध अन्त्य गर्ने दिशातर्फ युद्धविराम सम्झौता महत्त्वपूर्ण कदम भएको बताएका छन्।

सिरियाली सरकार र विद्रोहीबीच युद्धविराम सम्झौता गराउने प्रक्रियामा अमेरिका, रुस र जोर्डन संलग्न थिए।

पर्यवेक्षण

पछिल्लो युद्धविराम सम्झौताको अर्थ खासगरी संवेदनशील मानिएको इजरेल र जोर्डनसँग सीमा जोडिएको सिरियाली क्षेत्रमा लडाइँ रोकिनेछ भन्ने हो।

रुसले आफ्नो सैनिक प्रहरीले युद्धविराम सम्झौता पालना भए वा नभएको पर्यवेक्षण गर्ने जनाएको छ।

सिरियामा सन् २०११ मा भएको प्रदर्शनपछि गृहयुद्ध शुरु भएयता करिब ३ लाख मानिसले ज्यान गुमाइसकेका छन्।

जारी गृहयुद्धका कारण एक करोड १० लाख मानिस विस्थापित भएका छन्।

रुसले सिरियाली राष्ट्रपति बशर अल असादलाई समर्थन गर्दै आएको छ भने अमेरिकाले सिरियाली विपक्षीलाई समर्थन गरिरहेको छ।

दुवै मुलुकले आफूले समर्थन गरेको पक्षलाई सघाउन हवाई आक्रमण गर्दै आएका छन्।