देवघाटमा स्वामी रामानन्दको जलसमाधि

  • 9 जुलाई 2017
भक्त

आफ्नो जीवन शिक्षा, धर्म, संस्कृतिको संवर्धनमा समर्पित गरेका स्वामी रामानन्द गिरीको आइतबार चितवनस्थित देवघाटमा जलसमाधि गरिएको छ।

२०४१ सालमा जनक दर्शनमा विद्यावारिधि गरेका उनले देशका विभिन्न स्थानमा गुरुकुलका साथै आश्रम स्थापना गरेका छन्।

धादिङको केवलपुरमा २००३ सालमा जन्मेका र २०४७ सालमा सन्यास लिएका उनको शनिबार काठमाण्डूमा निधन भएको थियो।

गिरीका भाई रामप्रसाद सुवेदीका अनुसार सञ्चालन गरेका आश्रम र गुरुकुल सबै दाताहरुको सहयोगमा चल्दै आएका छन्।

निःशुल्क गुरुकुल

२०४९ सालमा देवघाट गएका स्वामी रामानन्द गिरीले त्यहाँबाट संस्कृत विद्यालय शुरु गरेका थिए।

उनले त्यहाँ स्थापना गरेको विद्यापीठमा संस्कृतमा आचार्य (एमए) तहसम्मको निःशुल्क पढाइ हुन्छ।

बस्ने र खाने पनि निःशुल्क व्यवस्था रहेको उक्त विद्यापीठमा हाल २ सय ५० जना विद्यार्थी अध्ययनरत छन्।

समाज परिवर्तनका लागि उनले गरेका कामबारे उनका शिष्य रमानन्दले भने, "अहिले नेपालमा एक सयभन्दा बढी गुरुकुल चलिरहेका छन्। जसरी देशभरी संस्कृत शिक्षा औपचारिक धारमा प्रतिस्पर्धात्मक बनेको छ, त्यसको श्रेय गुरुलाई नै जान्छ।"

योग्य जनशक्ति

स्वामी रामानन्द गिरीले देवघाट बाहेक पोखरा र काठमाण्डूमा आश्रम स्थापना गरेका छन्।

विभिन्न स्थानमा करिब ५० वटाभन्दा सस्था उनको संरक्षकत्वमा सञ्चालनमा छन्।

योग्य जनशक्ति उत्पादन गर्ने उनको मुख्य उद्देश्य रहेको उनका अनुयायी काठमाण्डौ जावलाखेलका माधवप्रसाद पौडेलको भनाइ छ।

वैदिक वाङ्मय तथा संस्कृत विषयका विद्वान गिरीका २० वटा पुस्तकहरु प्रकाशित छन्।