हैदर अल-अबादीद्वारा सैनिकहरुलाई बधाई

  • 10 जुलाई 2017
इराकी प्रधानमन्त्री हैदर अल-अबादी तस्वीर कपीराइट Reuters
Image caption मोसुल मुक्त भएको सन्देश दिन प्रधानमन्त्री अल-अबादी सो नगरको भ्रमणमा गएको उनको कार्यालयले जनाएको छ।

इराकी प्रधानमन्त्री हैदर अल-अबादीले आइएस विद्रोहीको कब्जाबाट मुक्त गरिएको भनिएको मोसुल नगरको भ्रमण गरेर इराकी सैनिकहरुलाई बधाई दिएका छन्।

उनको कार्यालयले जनाएअनुसार मोसुल पूर्ण रुपमा मुक्त भएको सन्देश दिन उनी त्यो नगरको भ्रमणमा गएका हुन्।

मोसुल मुक्त भएको प्रधानमन्त्रीको भनाइ सार्वजनिक हुनुअघि त्यहाँ सरकारी फौज र विद्रोहीबीच भीषण लडाईं भएको थियो।

मोसुल नगर आइएस विद्रोहीको कब्जाबाट मुक्त भएको बताइएलगत्तै इराकी प्रधानमन्त्री अल-अबादी सैनिकहरुलाई बधाई दिन सो नगर पुगेको प्रधानमन्त्री कार्यालयले एक वक्तव्यमा जनाएको छ।

मोसुल मुक्त गर्ने सैन्य कारबाहीमा कुर्दिश पेशमेर्गा लडाकु संगै सुन्नी अरबी आदीबासी र शिया विद्रोही सहभागी भएको बताइएको छ।

कारबाही

अमेरिकी हवाई कारबाहीको साथ पाएका इराकी सैन्य फौजहरुले गत वर्षको अक्टोबरदेखि मोसुललाई आइएसको पकडबाट मुक्त गर्ने सैन्य अभियानमा लागेका थिए।

पछिल्लो सैन्य कारबाही अघि मोसुल शहरको आइएस नियन्त्रित क्षेत्रमा चर्को भीडन्त भएको र त्यहाँबाट धुँवाको मुस्लो उडेको देखिएको थियो।

मोसुल मुक्त भएपनि सो नगर वरपरका कयौं भूभागमा अझै पनि आइएसको नियन्त्रण कायमै छ।

ती क्षेत्रबाट आइएसले अझै पनि आक्रमणहरु जारी राख्न सक्ने चिन्ताहरु हटेका छैनन।

बीबीसीका जेरेमी बोवेन भन्छन् अब मोसुलको पुननिर्माण गर्ने कार्य महत्वपूर्ण हुनेछ।

उनी भन्छन्, "मोसुल शहरमा धेरै क्षति भएको छ। मोसुल एक्लैलाई सही हालतमा ल्याउन एक अर्ब डलर खर्च हुने अनुमान गरिएको छ।"

इराक र सिरियामा आइएस कमजोर हुँदै गइरहेको ठानिएपनि सो क्षेत्र शान्त रहनेमा आशंकाहरु कायमै छन्।