विधेयकलाई लिएर राप्रपाभित्र असन्तुष्टि

  • 10 जुलाई 2017
राप्रपा

सरकारले संविधान संशोधन विधेयकलाई अघि बढाउने तयारी गरिरहेका बेला संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेताहरुले परिमार्जन नगरिए उक्त विधेयकको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन्।

यसअघि विधेयकलाई मतदानमा लग्ने सरकारको योजना विफल तुल्याइदिएका भनिएका राप्रपाका केही सांसद अझै उक्त विधेयकको विपक्षमा दृढ देखिएका हुन्।

विधेयक पारित गर्न यसअघि नपुग देखिएको केही सांसदको साथ जुटाउने सरकारको प्रयासका माझ राप्रपाभित्रको असन्तुष्टि प्रकट भएको छ।

सरकारले चैत्र महिनाको अन्तिम साता दर्ता गराएको संविधान संशोधन विधेयक हालसम्म संसदमै थन्किएको छ।

असन्तुष्टि

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उक्त विधेयकलाई साथ नदिन दृढ देखिएका बेला सिंगो राप्रपाले साथ दियो भने पनि विधेयक पारित गराउन अहिलेसम्मको स्थिति हेर्दा केही सांसद अपुग हुने देखिएको छ।

तस्वीर कपीराइट Twitter

त्यसैले सरकार केही सांसदको सहयोग खोजीमा रहेका बेला राप्रपाकै केही सांसद विपक्षमा देखिएका हुन्।

पार्टीले संविधान संशोधन विधेयकको पक्षमा उभिने बताए पनि राप्रपाका एक सांसद राम कुमार सुब्बा भन्छन्, "यदि यो संशोधन विधेयक परिमार्जन भएन भने हामी विमति नै जनाउछौं र मतदानका बेला विपक्षमै मत हाल्छौं।"

सरकारले दुई महिनाअघि संशोधन विधेयकलाई मतदानमा लग्ने तयारी गरेको थियो। राप्रपाका केही सांसद संसदमा उपस्थित नहुने तयारीमा रहेको थाहा पाए पछि नै उक्त प्रक्रिया रोकिएको बताइएको थियो।

मुख्यतया संशोधनमा प्रस्ताव गरिएका नागरिकता, भाषा, जनसंख्याका आधारमा प्रतिनिधित्व जस्ता विषयले दीर्घकालसम्म राष्ट्रलाई घाटा पुर्याउने असन्तुष्ट समुहमा रहेका सांसद विराज विष्टको भनाई छ।

पार्टी अध्यक्ष कमल थापाले राप्रपाको संसदीय दलको बैठकमा संशोधनका विषयमा छलफल गरेरै अघिबढने वचन दिएको अर्का सांसद रमेश कुमार लामाले बताए।

उनले भने " बुँदागत रुपमा दिल खोलेर छलफल गरेपछि तपाईहरुले जे भन्नुहुन्छ त्यसमा म सहमत छ भनेर अध्यक्षले भन्नु भएको छ तर हामी हाम्रो अडानमा कायमै छौं।"

विवाद

तर राप्रपा अध्यक्ष थापा निकट नेता संशोधनबारे आफ्नो पार्टीमा कुनै विवाद नभएको बताउँछन्।

सबै सासंद एक ठाँउमा रहने राप्रपा संसदीय दलकी प्रमुख सचेतक कुन्तीकुमारी शाहीको विश्वास छ।

उनले भनिन्, "हामीहरु विधेयकको पक्षमा जाने भन्ने कुरा एक प्रकारले सबै सासंदहरुको समर्थन भएको अवस्था हो यसमा अहिले असन्तुष्टी भएको मैले पाएको छैन।"

राप्रपाको तीन सदस्यीय वार्ता टोलीले सरकारमा सहभागिता, संविधान संशोधन विधेयक लगायतका विषयमा सत्तापक्षसँग छलफल गरिरहेको बताइएको छ।

संशोधनको पक्षमा समर्थन जुटाउन सक्रिय सत्तापक्षका एकजना नेता विमलेन्द्र निधिले यस पटक संशोधन पारित गराउन राप्रपाका सबै सांसद सहित अन्य पार्टीले पनि साथ दिनेमा आशावादी रहेको बीबीसीसँगको कुराकानीमा बताए।