प्रधान सेनापति क्षेत्री लण्डनमा

  • 10 जुलाई 2017
तस्वीर कपीराइट NEPAL ARMY
Image caption कर्णेल लामा प्रकरण पछि नेपाली तथा ब्रिटिश सेनाबीच संबन्ध चिसिएको बताइएको थियो (फाइल फोटो)

न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघीय मुख्यालयमा राष्ट्र संघीय शान्ति सेनामा सैनिकहरु पठाउने मुलुकका सेनापतिहरुको दोश्रो सम्मेलनमा भाग लिएर प्रधान सेनापति राजेन्द्र क्षेत्री लण्डन आइपुगेका हुन्।

लण्डनमा उनले ब्रिटिश रक्षा मन्त्रीलाई भेटनुकासाथै ब्रिटिश सेनाका स्थल सेनाध्यक्ष तथा अन्य वरिष्ठ सैनिक अधिकारीहरुसंग भेटवार्ता गर्ने अधिकारीहरुले जनाएका छन्।

लण्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले प्रधान सेनापति क्षेत्रीको भ्रमण खासगरी दुई मुलुकका सेनाहरुबीचको संबन्धलाई थप प्रगाढ बनाउने तथा विस्तार गर्ने उद्देश्यले हुन लागेको बताए।

उनले सेनापति क्षेत्रीले बुधबार ब्रिटिश गोर्खा सैनिक मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए।

आधुनिकीकरण

ब्रिटेनले पाँचखालस्थित नेपाली सेनाको शान्ति सैनिक प्रशिक्षण केन्द्रको आधुनिकीकरणमा सघाएको थियो।

त्यस्तै दुबै सेनाहरुबीच प्राविधिक सहयोग पनि हुने गरेको छ।

ब्रिटेनको स्यान्डहर्स्टस्थित रोयल मिलिटरी एकेडेमीमा नेपाली सेनाका अधिकृतहरुले प्रशिक्षण लिने गरेका छन्।

तर नेपालमा सशस्त्र द्वन्द्वकालमा बन्दीहरुलाई यातना दिएको अभियोगमा ब्रिटिश प्रहरीले नेपाली सेनाका महासेनानी कुमार लामालाई साढे चार वर्षअघि पक्राउ गरेपछि नेपाली सेना ब्रिटेनसंग असन्तुष्ट रहेको बताइएको थियो।

दुई वर्ष अघि आएको विध्वंशकारी भूकम्पपछि राहत वितरणमा सघाउन ब्रिटिश सरकारले पठाएका तीनवटा चिनुक हेलिकोप्टरहरु नेपालले चाहिंदैन भनेपछि फर्किएका थिए।

नेपाल जाने अनुमति पर्खंदै कैयौं दिन दिल्लीमा ती हेलिकोप्टरहरलाई राख्दा ब्रिटिश सरकारको करोडौं रकम खर्च भएको समाचारले ब्रिटिश सन्चारमाध्यमहरुमा प्रमुखता पाएको थियो।

गत वर्ष एउटा ब्रिटिश अदालतले महासेनानी लामालाई सफाइ दिएपछि उनी स्वदेश फर्कीसकेका छन्।

सैनिक संबन्ध

बीबीसी नेपाली सेवासंग कुरा गर्दै नेपाली दूतावासका प्रवक्ता आरणले सन्चार माध्यमहरुमा आएजस्तो ब्रिटिश तथा नेपाली सेनाबीच संबन्ध बिग्रेको भन्ने कुरा सही नभएको बताए।

मंगलबार सेनापति क्षेत्रीले आफ्ना ब्रिटिश समकक्षी जनरल निकोलस प्याट्रिक कार्टरसंगको भेटमा दुई सेनाहरुबीचको संबन्ध, सैनिक प्रशिक्षण तथा प्राविधिक सहयोग लगायतका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

हालै लण्डनमा नेपाल तथा ब्रिटेनबीच संबन्ध कायम भएको २०० वर्ष पुरा भएको अवसरमा नेपाली दूतावासको आयोजनामा सप्ताहव्यापी कार्यक्रमहरु गरिएका थिए।

ब्रिटिश सेनामा गोर्खा भर्तीको इतिहास २०० वर्ष नाघ्दा दुई देशहरुका सेनाबीच पनि निकट संबन्ध रहेको जानकारहरु बताउँछन्।

लामो इतिहास

हरेक नौ, नौ महिना जसोमा नेपालमा सरकारहरु बदलिने गरेको पृष्ठभूमिमा लामो इतिहास बोकेको एउटा बलियो संस्थाको रुपमा हेरिने नेपाली सेनाले भारत, चीन, संयुक्त राज्य अमेरिका तथा बेलायतजस्ता मुलुकहरुसंग सैन्य संबन्ध सुद्ढ गर्न जोड दिंदै आएको छ।

गत बैशाख महिनाको शुरुमा नेपाली सेनाले पहिलो पटक चिनियाँ सेनासंग काठमाडौंमा दश दिन लामो संयुक्त सैन्य तालिम गरेको थियो।

शुरुमा संयुक्त सैन्य अभ्यास गरिने भनेता पनि पछि भारतको असन्तुष्टिका कारण उक्त अभ्यासलाई तालिममा झारिएको खबरहरु आएका थिए।

कतिपय विश्लेषकहरुले उक्त कदमलाई भारतीय सेनासंग रहेको भनिएको निर्भरता घटाउँदै लाने नेपाली सेनाको एउटा प्रयासको रुपमा पनि अर्थ्याएका थिए।