रुसले अमेरिकी कारबाहीको "बदला लिने"

  • 11 जुलाई 2017
पुटिन र ट्रम्प तस्वीर कपीराइट Reuters

भूतपूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाको प्रशासनले ३५ जना रुसी कूटनीतिज्ञलाई फिर्ता पठाएकोमा रुसले बदला लिने रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले पुष्टि गरेका छन्।

ओबामा प्रशासनले अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोपमा सात महिनाअघि रुसी कूटनीतिज्ञमाथि त्यस्तो कारबाही गरेको थियो।

त्यसबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यस्तो "गैरजिम्मेवार कूटनीतिको तहमा नगिर्ने" भन्दै बदला लिन अस्वीकार गरेका थिए।

तर त्यो समयमा ओबामा प्रशासनले कब्जामा लिएका रुसी गुप्तचर सेवा रहेका दुई भवन फिर्ता नदिएकोमा रुसले आक्रोश व्यक्त गरेको छ।

बदला

रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले त्यसबारेमा कदम चाल्ने विचार गरिरहेको बताएका छन्।

यो भन्दा अघि नाम नखुलेका रुसी अधिकारीहरुले मस्कोले करिब ३० जना अमेरिकी कूटनीतिज्ञलाई निष्कासन गर्ने र अमेरिकी सम्पत्ति जफत गर्ने तयारी गरिरहेको जनाएका थिए।

अमेरिकी गुप्तचर श्रोतले रुसका सरकारी अधिकारीमाथि डेमोक्रेटिक पार्टीका कम्प्युटर ह्याक गरेर हिलरी क्लिण्टनको चुनावी अभियानलाई कमजोर बनाएको आरोप लगाएपछि गत डिसेम्बर महिनामा ओबामा प्रशासनले ३५ जना रुसी कूटनीतिज्ञलाई निष्काशन गरेको थियो र रुसी गुप्तचर सेवाका दुईवटा भवन बन्द गराएको थियो।

रुसले त्यस्तो हस्तक्षेप गरेको अस्वीकार गरेको छ।

गतिरोध

रुसी राष्ट्रपति पुटिनले ती प्रतिबन्धका विषयमा गत हप्ता डोनल्ड ट्रम्पसँग कुरा उठाएको एउटा रुसी समाचार संस्थाले जनाएको छ।

सो समस्या सुल्झाउनका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले कुनै कार्ययोजना प्रस्तुत नगरेको रुसको आरोप छ।

रुसी विदेशमन्त्री लाभ्रोभले "अमेरिका जस्तो महान देशले स्थितिलाई नसुल्झाइ राख्नु भनेको लज्जास्पद हो" भन्दै अमेरिकी संसद "रुसविरोधी" भएको आरोप लगाएका छन्।

हल्लाहरु

रुसले अमेरिकाविरुद्ध कारबाही गर्ने हल्ला चलेको यो पहिलोपटक भने होइन।

यस विषयमा रुस र अमेरिकाको वार्ता हुनुअघि अमेरिकामाथि दवाव बढाउनका लागि यो पछिल्लो चेतावनी दिइएको हुनसक्छ।

युक्रेनको द्वन्द्वमा रुसको भूमिकापछि उसमाथि पश्चिमा देशहरुले लगाएका प्रतिबन्धमाथि अमेरिकी प्रतिबन्धहरु थपिएका हुन्।