'राजपालाई चुनावमा ल्याउन विकल्प खोजिने'

  • 11 जुलाई 2017
बैठक तस्वीर कपीराइट pm secretariat

सत्तापक्षले संविधान संशोधन विधेयक पारित हुन नसक्ने अवस्थामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनावमा सहभागी गराउने वैकल्पिक उपायको खोजी गर्ने जनाएको छ।

सत्तापक्षले राजपासँगको बैठकपछि त्यस्तो मनस्थिति बनाएको हो।

विधेयकको छिनोफानोपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएको सत्तापक्षले दुई तिहाइ पुग्ने सम्भावना नदेखेपछि राजपालाई छलफलमा डाकेको थियो।

उक्त बैठकको निष्कर्ष सुनाउँदै कांग्रेस नेता रामचन्द्र पौडेलले भने, "सकेसम्म संशोधन पारित गर्न अझै २-३ दिन गृहकार्य गर्ने तर त्यो सम्भव नभए पनि राजपालाई चुनावमा ल्याउन वैकल्पिक उपायबारे छलफल गर्ने कुरा भएको छ।"

विश्वास

ती उपायबारे उनले खुलाएनन्।

स्थानीय तहको संख्या बढाउने र दल दर्ता तथा चुनाव चिन्ह लगायतका राजापाका माग पुरा गरेमा उ चुनावमा सहभागी हुने सत्तापक्षको विश्वास हुनसक्छ।

तर राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले बैठकमा त्यस्तो कुनै प्रस्ताव सत्तापक्षबाट नआएको बताए।

राजपासँगको बैठकअघि सत्तापक्षले प्रमुख विपक्षी एमालेसँग पनि छलफल गरेको थियो।

उक्त बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र कांग्रेस नेता विमलेन्द्र निधिले अहिलेलाई विधेयक अघि नबढ्ने धारणा सार्वजनिक गरेका थिए।

तस्वीर कपीराइट pm secretariat

कारणबारे उनले भने, "एमाले र राप्रपाको साथ लिएर विधेयक पारित गर्न सकिन्छ भन्ने थियो। तर एमालेले साथ दिने अवस्था देखिएन। विधेयकको पक्षमा दुई तिहाइ पुग्ने अवस्था छैन।"

एमाले अडान

एमाले पहिल्यैदेखि संशोधन विधेयकको विरोधमै थियो।

उक्त दलका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री निवास वालुवाटारमा त्यही अडान दोहराएको जानकारी दिए।

नेता निधिले एमालेको असहमतिलाई विधेयक अघि नबढाउने मूल कारणको रुपमा प्रस्तुत गरेका थिए।

तर संशोधनमा साथ दिने वचन दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केही सांसद विधेयकको विपक्षमा देखिएकाले पनि सत्तापक्ष संशोधनको पक्षमा दुई तिहाइ पुग्नेमा आश्वस्त हुन नसकेको ठानिएको छ।

राप्रपासँग थप प्रष्ट कुरा गर्ने सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलको भनाइले पनि त्यसतर्फ संकेत गर्छ।

राजपाका नेता झाले एमाले लगायतका अन्य दलहरुसँग आफ्नो दलले पनि संशोधनबारे कुरा गरेर ४-५ दिनपछि विधेयक र चुनावमा सहभागी हुने/नहुने लगायतका विषयमा धारणा सार्वजनिक गर्ने जानकारी दिए।