'महत्त्वपूर्ण घडीमा कैयौं कर्मचारी विदेशमा'

  • 12 जुलाई 2017
सिंहदरबार
Image caption विदेश भ्रमणसम्बन्धी स्पष्ट मापदण्डको कार्यान्वयन खट्किंदा महत्त्वपूर्ण समयमा उच्चपदस्थ सहितका कर्मचारीहरु विदेश भ्रमणमा गएको विवरण सार्वजनिक भएको हो।

निर्वाचनपश्चात् स्थानीय तहको प्रशासनिक एवम् अन्य पक्षको व्यवस्थापनको चापाचाप तथा आर्थिक वर्षको अन्त्य हुने बेलाको सरकारी चटारोलाई बेवास्ता गर्दै विभिन्न मन्त्रालयका दर्जनौं उच्चपदस्थ कर्मचारी हाल विदेश भ्रमणमा छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका र वाणिज्य मन्त्रालयका सह-सचिव अनि परराष्ट्र मन्त्रालयका सचिवसम्म हाल विदेश भ्रमणमा छन्।

जानकारहरुले बजेट सकाउने ध्येयले पनि कतिपय कर्मचारीहरु यो बेला अनावश्यक विदेश भ्रमणमा जाने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

महत्त्वपूर्ण मानिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता समेत रहेका सह-सचिव दामोदर रेग्मी हाल विदेश भ्रमणमा छन्।

जिम्मेवारी

मुख्य सचिवको अनुपस्थितिमा निमित्तको जिम्मेवारी दिइने भनिएको उक्त कार्यालयकै सचिव रामकुमार आचार्य पनि नेपाल बाहिर छन्।

उनी नहुँदा सो जिम्मेवारी केदारप्रसाद अधिकारीले पाएका छन्।

त्यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहायक प्रवक्तासँग सम्पर्क गर्ने पटक-पटकको प्रयास सफल हुन सकेन।

सो कार्यालयका अर्का एक सचिवसँग सोध्दा त्यसबारे आफू 'रेकर्ड'मा बोल्न नसक्ने बताए।

त्यसैगरी परराष्ट्र मन्त्रालयका सचिव शंकर वैरागी हाल मलेसिया भ्रमणमा छन्।

त्यतिमात्रै होइन पर्यटन मन्त्रालयका सह-सचिवसहितका कर्मचारीहरुको एउटा ठूलै टोली विदेश भ्रमणमा छ।

प्रवृत्ति

वाणिज्य मन्त्रालयका सह-सचिव नेतृत्वको एउटा टोली मंगलबार मात्रै भारत पुगेको छ।

कृषि मन्त्रालयका कर्मचारीहरुको एउटा टोली केही दिनअघि मात्रै विदेश भ्रमणबाट स्वदेश फर्किएको छ।

आर्थिक वर्ष सकिने बेला र संघीयता कार्यान्वयनका लागि स्थानीय तह सञ्चालनमा महत्त्वपूर्ण यो घडीमा ठूलो संख्यामा कर्मचारीहरु विदेश भ्रमणमा जानुको कारणबारे सम्बन्धित मन्त्रालयहरुमा सम्पर्क गर्दा कसैले पनि रेकर्डमा कुरा गर्न चाहेनन्।

विदेश भ्रमणमा जाने कर्मचारीहरुले भ्रमण भत्ता पाउने व्यवस्था छ।

विदेश भ्रमणसम्बन्धी स्पष्ट मापदण्डको कार्यान्वयन खट्किंदा कतिपय जानकारले घुम्ने तथा पैसा कमाउन खोज्ने प्रवृत्तिले जरा गाड्दै गएको भन्दै त्यसले प्रशासनतन्त्रमा गम्भीर नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।