देशबाहिर चीनको पहिलो सैन्य अखडा

  • 12 जुलाई 2017
निर्माण

देशबाहिर पहिलो सैन्य अखडा निर्माणका लागि आफ्ना सैनिकहरुलाई लिएर चीनका पानीजहाजहरु जिबूटीतर्फ लागेको सिन्ह्वा समाचार संस्थाले जनाएको छ।

चीनले अफ्रिका र पश्चिम एसियामा शान्ति स्थापना र मानवीय सहायतामा संलग्न हुने सैनिकका लागि उक्त अखडा प्रयोग गरिने जनाएको छ।

सिन्ह्वाका अनुसार सैन्य सहकार्य, नौसेनाको अभ्यास र उद्धार कार्यका निम्ति सो अखडाको प्रयोग गरिने छ।

चीनले पछिल्लो समय अफ्रिकामा तीव्र गतिमा लगानी गरिरहेको छ।

तीव्रता

साथै पछिल्ला वर्षमा सैनिक आधुनिकीकरणमा पनि उसले तीव्रता दिएको छ।

बन्दरगाह शहर जानजियाङबाट चिनियाँ जहाजहरु जिबूटीका लागि मंगलबार प्रस्थान गरेको सिन्ह्वाले जनाएको छ।

तस्वीर कपीराइट AFP/Getty Images
Image caption चीनले पछिल्लो समय अफ्रिकामा तीव्र गतिमा लगानी गरिरहेको बताइन्छ।

तर जिबूटीका लागि प्रस्थान गरेका जहाज तथा सैनिकको संख्या र सैनिक अखडा स्थापना गरिने मितिबारे विवरणमा केही खुलाइएको छैन।

दुई देशबीचको "सौहार्दपूर्ण वार्ताहरु"पछि जिबूटीमा सैनिक अखडा निर्माण गर्न लागिएको समाचारमा जनाइएको छ।

सामर्थ्य

यसअघिका विवरणहरुमा गत वर्ष सैनिक अखडा बनाउन थालिएको बताइएको थियो।

सो सैनिक अखडालाई उक्त क्षेत्रमा चीनले सैन्य उपस्थिति जनाउन लागेको रुपमा हेरिएको छ।

तर सरकारी पत्रिका 'ग्लोबल टाइम्स'ले बुधबार आफ्नो सम्पादकीयमा लेखेको छ, "चीनले सैनिक सामर्थ्य बढाउनुको मुख्य उद्देश्य चीनको रक्षा हो, नकि विश्वमाथि नियन्त्रण गर्ने उद्देश्य।"

जिबूटीमा संयुक्त राज्य अमेरिका, जापान र फ्रान्सको पनि सैनिक अखडा रहेकोतर्फ उक्त पत्रिकाले इंगित गरेको छ।

जिबूटी अफ्रिकी महादेशको छेउमा पर्दछ र व्यस्त समुद्री मार्ग नजिकै पर्ने भएकोले उसलाई रोज्ने गरिन्छ।

अस्थिर महादेशको स्थायित्व भएको एउटा देशका रुपमा पनि जिबूटीलाई हेरिन्छ।