‘कतारविरुद्धका प्रतिबन्धहरु जारी राख्‍ने निर्णय’

  • 12 जुलाई 2017
टिलरसन र कतारी विदेशमन्त्री तस्वीर कपीराइट EPA

साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स, बहरेन, तथा इजिप्टले मंगलबार दोहामा आतंकवादलाई वित्तीय सहयोग रोक्ने बारे अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनको मध्यस्थतामा भएको कतार-अमेरिका सहमति अपर्याप्त भएको बताएका छन्।

अमेरिकी विदेशमन्त्रीको मध्यस्थतामा भएको उक्त सहमति अपुग भन्दै उनीहरुले कतारमाथि लगाउँदै आएको नाकाबन्दी लगायतका प्रतिबन्धहरु जारी रहने बताएका छन्।

अविश्वसनीय

उनीहरुले विगतको सहमतिहरुको हवाला दिंदै कतार सरकारलाई पत्याउन नसकिने बताए।

ती चार देशले कतारमाथि सो क्षेत्रका आतंकवादी समूहहरुलाई सहयोग गरेको आरोप लगाएका छन्।

कतारमा दूध आपूर्तिका लागि विमानबाट गाई

कतारले ती आरोपको खण्डन गर्दै आएको छ।

दुई साता अगाडी कतारका सामु अल जजिरा न्यूज नेटवर्क बन्द गर्नुपर्ने, टर्कीको सैन्य अखाडा बन्द गर्नुपर्ने, मुस्लिम ब्रदरहुड समूहसंग नाता तोड्नुपर्ने तथा इरानसंग सम्बन्ध न्यूनीकरण गर्नुपर्ने जस्ता माग उनीहरुले पेश गरेका थिए।

तर त्यसको जवाफ नकारात्मक आएको भन्दै ती चार देशले गत साता कतार विरुद्ध थप राजनैतिक, आर्थिक तथा कानुनी प्रतिबन्धका कदम चाल्ने जनाएका थिए।

दोहा सहमति

मंगलबार अमेरिकी विदेश मन्त्री टिलरसन दोहा पुगेका थिए।

मे महिनामा साउदी राजधानी रियाधमा भएको अरब इस्लामिक अमेरिकन शिखर सम्मेलनका बेला राष्ट्रपति डोनल्ड ट्रम्पले प्रस्ताव गरेको आतंकवादलाई वित्तीय सहयोग रोक्ने विषयको सन्दर्भमा अमेरिका र कतारबीच भएको सहमतिपत्रमा उनले त्यहाँ हस्ताक्षर गरेका थिए।

उक्त सहमति हप्तौंसम्म दुई देशका अधिकारीबीच भएका छलफलको परिणाम भएको र त्यसले रियाध सम्मेलनको भावना समेटेको टिलरसनले बताएका थिए।

लगत्तै साउदी नेतृत्वको गठबन्धनले अमेरिकी प्रयासको सराहना गर्दै तर त्यो अपुग भएको जनाएका थिए।

कतारी अधिकारीहरुले स्वाभाविक र सही मार्गमा फर्कन गम्भीरता देखाउन पर्ने तथा जायज मागहरु पूरा गर्नुपर्ने गठबन्धनले जनाएको छ।

अमेरिकी विदेशमन्त्री टिलरसनले बुधबार नै साउदी शहर जेद्दामा चारवटा अरब देशका विदेशमन्त्रीहरुसंग भेट्दैछन्।