भेटघाट प्रकरणः ट्रम्पद्वारा छोराको बचाउ

  • 12 जुलाई 2017
ट्रम्प र भेसेल्नित्स्काया तस्वीर कपीराइट AFP

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले छोरा डोनल्ड जुनियर र एकजना रुसी वकिलबीचको भेटघाटको बयानलाई "खुला, पारदर्शी र निर्दोष" भनेका छन्।

त्यो भेटघाटका बारेमा डोनल्ड ट्रम्प जुनियरले फक्स न्यूजसँग कुराकानी गरेको केही घण्टामा छोरालाई बचाउ गर्दै उनले त्यस्तो ट्वीट गरेका हुन्।

रुसी वकिलसँगको भेटघाटमा हिलरी क्लिण्टनका बारेमा क्रेम्लिनले जानकारी दिने ट्रम्पका छोरालाई बताइएको थियो।

आलोचकहरुले ट्रम्प जुनियरमाथि रुसीहरुसँग मिल्ने विचार राखेको आरोप लगाएका छन् र उनले थुप्रै कानून तोडेको हुनसक्ने धेरैको विश्वास छ।

'महत्त्व नदिएको'

ट्रम्प जुनियरले फक्स न्यूजसमक्ष त्यो भेटघाटमा खासै केही नभएको बताएका छन् तर त्यो घटनालाई आफूले अर्कै तरिकाले सम्हालेको भए हुने स्वीकारेका छन्।

केही समयअघि ट्रम्प जुनियरले त्यो भेटघाट हुनुअघिको इमेल वार्ता सार्वजनिक गरेका थिए।

न्यूयोर्क टाइम्सले सो सामाग्री प्रकाशित गर्न लागेको उनलाई बताइएको थियो।

सो इमेलमा ट्रम्प जुनियरलाई हिलरी क्लिण्टनलाई दोषी देखाउने दस्तावेजहरु रुसले दिने बताइएको थियो।

त्यो सामाग्री अत्यन्त संवेदनशील भएको र ट्रम्पप्रतिको रुसी सरकारको समर्थनको प्रतीक भएको एउटा इमेलमा बताइएको छ।

सम्बन्ध

ट्रम्प जुनियरले त्यसो भएमा आफूलाई निकै मन परेको भन्ने उत्तर पठाएका थिए।

सन् २०१६ को जुन महिनामा ट्रम्प, उनका ज्वाईं जारेड कुश्नर र चुनावी अभियान संयोजक पौल मानाफोर्टले रुसी वकिल नातालिया भेसेलनित्स्कायालाई भेटेका थिए।

तर भेसेलनित्स्कायाले अमेरिकीहरुले रुसी बालबालिकालाई धर्मपुत्रका रुपमा पाल्ने एउटा स्थगित कार्यक्रमका बारेमा कुरा गर्न खोजेपछि त्यो भेटघाटलाई महत्त्वपूर्ण नमानेर बुवालाई त्यसबारेमा केही नभनेको उनले बताएका छ।

तस्वीर कपीराइट Getty Images

क्रेम्लिनका प्रवक्ताले भेसेलनित्स्कायासँग कुनै सम्बन्ध नभएको बताएका छन् र ती वकिलले समेत आफूसँग हिलरी क्लिण्टनसँग सम्बन्धित कुनै जानकारी नरहेको बताएकी छन्।

विदेशी नागरिक वा सरकारबाट कुनै मूल्यवान वस्तु लिन नपाइने चुनावी अभियानका नियमअन्तर्गत ट्रम्प जुनियर दोषी पाइन सक्ने कानुनविद्हरु बताउँछन्।

उल्लंघन

इमेलप्रति उनको उत्साहित जवाफले पनि षड्यन्त्रसम्बन्धी कानूनको उल्लंघन गरेको हुनसक्छ।

प्रायः रिपब्लिकनहरुले सो विवादका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन्।

अमेरिकी अधिकारीहरुले चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमाथि अनुसन्धान गरिरहेका छन्।

राष्ट्रपति निर्वाचित भएदेखि नै ट्रम्पले रुसले क्लिण्टनको चुनावी अभियानलाई कमजोर बनाएको थियो भन्ने आरोपको सामना गरिरहेका छन्।

ट्रम्पले त्यस्तो केही आफूलाई थाहा नभएको बताएक छन् भने रुसले पनि बारम्बार त्यसलाई अस्वीकार गरेको छ।