ब्रजिलका पूर्व राष्ट्रपति लुला दोषी ठहर

  • 13 जुलाई 2017
लुला तस्वीर कपीराइट Reuters
Image caption कानुनी प्रक्रिया नटुंगिएसम्म लुला अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा भाग लिन स्वतन्त्र हुनेछन्।

ब्रजिलको एक अदालतले पूर्व राष्ट्रपति लुइस इनासिओ लुला डा सिल्भाले घुसको रुपमा समुद्र तटमा दश लाख डलरभन्दा बढी मूल्य पर्ने एक अपार्टमेन्ट लिएको अभियोगमा दोषी ठहर गरेको छ।

उनका वकिलले कैद सजायविरुद्ध पुनरावेदन गरिने बताए।

कानुनी प्रक्रिया नटुंगिएसम्म उनले अर्को वर्ष हुने राष्ट्रपतीय चुनावमा भाग लिन पाउनेछन्।

लुलाको दलका एक नेता कार्लोस जराटीनीले अदालतको निर्णय राजनीतिक प्रकृतिको भएको बताए।

उनले भने, "न्यायाधीशको निर्णय एक व्यापारीको बयानमा आधारित छ। यो निर्णय लुलालाई सन् २०१८को राष्ट्रपतीय चुनावमा भाग लिन नदिने हिसाबले गरिएको हाम्रो ठहर छ।"

संवाददाताहरु भन्छन् अदालतको फैसला लुलाका लागि ठूलो धक्काको रुपमा आएको छ।

प्रसिद्ध

युनियनको पूर्व नेता रहेका लुलाले बाल्यकालमा गरीबी भोगेका थिए।

तर उनी देशकै सबैभन्दा प्रसिद्ध राष्ट्रपति बन्न पुगे।

उनका नीतिले सामाजिक र आर्थिक असमानताहरु हटाउन सहयोग पुर्याएको ठानिन्छ।

ब्रजिलमै एक संसदीय समितिमा वर्तमान राष्ट्रपति मिसेल टेमेर मुछिएको एक भ्रष्टाचारको मुद्दाको सुनुवाई गर्न सर्वोच्च अदालतलाई अनुमति दिने कि नदिने भन्नेबारे छलफल भईरहेको छ।

टेमेरविरुद्ध देशकै सबैभन्दा ठूलो मासु बिक्रेता कम्पनीबाट घुस लिएको आरोप लगाइएको छ।

उनको मुद्दामाथि छलफल अघि बढाउन दिने वा नदिने भन्नेबारे शुक्रबार संसदीय समितिमा मतदान हुने कार्यक्रम छ।