अफगान किशोरीहरुलाई अमेरिकी प्रवेशाज्ञा

  • 13 जुलाई 2017
अफगानी किशोरी तस्वीर कपीराइट Reuters
Image caption यी किशोरीहरुले स्काइप मार्फत रोबोट सम्बन्धी प्रतिस्पर्धामा सहभागी हुने योजना बनाएका थिए।

अमेरिकामा हुन लागेको रोबोट सम्बन्धी प्रतिस्पर्धामा सहभागी बन्न चाहेका अफगानिस्तानका स्कूले किशोरीहरुलाई अमेरिकाले प्रवेशाज्ञा दिएको छ।

यस अघि उनीहरुलाई प्रवेशाज्ञा मनाही गरिएको थियो।

एपी समाचार एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्रवेशाज्ञा नदिने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए।

छ वटा मुश्लिम बहुल देशका नागरिकहरुलाई अमेरिकाले लगाएको यात्रा प्रतिबन्धमा अफगानिस्तान परेको थिएन।

प्रतिस्पर्धा

द गाम्बियाका विद्यार्थीहरुको प्रवेशाज्ञा पनि त्यसैगरी परिवर्तन भएको थियो।

एपीका अनुसार गृह सुरक्षा विभागका प्रवक्ता डेभीड लपनले विदेश मन्त्रालयको अनुरोधमा अफगान विद्यार्थीहरुलाई प्रवेशाज्ञा दिने निर्णय गरिएको जानकारी दिए।

अफगानिस्तानबाट माध्यमिक विद्यालयका ६ किशोरीहरु भकुण्डो छान्ने रोबोट लिएर प्रतिस्पर्धामा सहभागी हुन लागेका हुन्।

गैर नाफामुलक संस्था फर्ष्ट ग्लोबलले रोबोट सम्बद्ध खेलहरुबारे आयोजना गरेको प्रतिस्पर्धामा १६४ देशका सहभागी हुने बताइएको छ।

फर्ष्ट ग्लोबलले स्टेम भनेर विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।