चीनका एकमात्र नोबेल शान्ति पुरस्कार विजेता ल्यो शिआबोको मृत्यु

  • 13 जुलाई 2017
शियाबो तस्वीर कपीराइट AFP

चीनका सबैभन्दा प्रसिद्ध र प्रभावशाली राजनीतिक बन्दीको क्यान्सरका कारण मृत्यु भएको छ।

उनी ६१ वर्षका थिए र उनलाई क्यान्सर रोगको उपचारका लागि हालै मात्रै जेलबाट अस्पतालमा सारिएको थियो।

उनले ११ वर्षे जेल सजाय काटिरहेका थिए, जुन सजाय उनलाई चीनमा एकदलीय शासनको अन्त्य हुनु पर्ने माग गर्दै अनलाइन ज्ञापनपत्र लेखेको र प्रचार गरेको अभियोगमा दोषी ठहर गरेपछि दिइएको थियो।

पश्चिमा सरकारहरु र संसारभरिका अधिकारवादी संगठनहरुले ल्यो शिआबोलाई उपचारका लागि विदेश जाने अनुमति दिन बेइजिंगलाई आग्रह गरेका थिए।

तर ती अनुरोधलाई अस्वीकार गरिएको थियो।

संघर्ष

नोबेल शान्ति पुरस्कार विजेता ल्यो शिआबोले मुलुकलाई अझै बढी प्रजातान्त्रिक र जवाफदेही बनाउनका लागि दशकौंदेखि संघर्ष गरिरहेका थिए।

साहित्यिक समालोचक ल्योले सन् १९८९मा तियनानमेन स्क्वेयर वरिपरि भएको विरोधमा भाग लिएका थिए।

चिनियाँ जनमुक्ति सेनाले उक्त आन्दोलन दबाउनुअघि थुप्रै विद्यार्थीलाई स्क्वेयरबाट सुरक्षित तरिकाले भगाएको श्रेय उनलाई दिने गरिएको छ।

उक्त आन्दोलनमा ज्यान गुमाउने मानिसको संख्या अज्ञात छ।

अनवरत

विरोधमा सहभागी भएकै कारण उनलाई पहिलोपटक १९ महिना थुनामा राखिएको थियो।

यद्यपि अनेकौं पटक बन्दी बनाइए पनि ल्यो रोकिएनन्।

र, बेइजिङ ओलम्पिक्स आयोजना गरिएको वर्ष उनी र अन्य असन्तुष्ट मानिसहरुले चीनको राजनीतिक प्रणालीमा आमूल परिवर्तनको वकालत गर्दै "चार्टर ०८" नामको एक घोषणापत्र लेखेका थिए।

"चार्टर ०८" चिनियाँ कम्युनिस्ट पार्टीलाई अपाच्य थियो।

फेरि अर्को पटक ल्यो शिआबो समातिए। यसपटक उनलाई राज्यविरुद्धको कामलाई प्रोत्साहन गरेको आरोपमा ११ वर्षको सजाय दिइयो।

नोबेल पुरस्कार

तस्वीर कपीराइट AFP
Image caption कारागारमा हुँदा नोबेल पुरस्कार पाएका ल्योका लागि समारोहमा एउटा खाली कुर्सी राखिएको थियो।

नोबेल शान्ति पुरस्कार पाउँदा उनी कारागारमै थिए।

चिनियाँ सरकारले ल्यो शिआबोलाई राम्रो व्यवहार गरेको छ भनेर देखाउनका लागि हालै उनका तस्वीरहरु सार्वजनिक गरेको थियो तर उनको स्वास्थ्य बिस्तारै खस्किरहेको थियो।

निको नहुने कलेजोको क्यान्सर भएको पत्ता लागेपछि उनलाई गत जुन महिनामा अस्पताल लगियो र अन्तर्राष्ट्रिय जगतबाट निन्दा हुँदाहुँदै पनि उनलाई त्यहाँ सुरक्षा निगरानीमा राखियो।

चिनियाँ सरकारले शायद उनलाई रोक्न सकेन होला, तर अन्त्यमा क्यान्सरले रोक्यो।