दार्जिलिङमा खाद्यान्न अभाव

  • 13 जुलाई 2017
Image caption दार्जीलिङवासीहरुले सीमावर्ती बजारहरुबाट दैनिक उपभोग्य वस्तु खरिद गरिरहेका छन्

छुट्टै गोर्खाल्याण्ड राज्यको माग राखेर आम हड्ताल गरिएका कारण भारतको पश्चिम बंगालको दार्जीलिङका नेपाली भाषी गोर्खालीहरुले खाद्यान्न अभावको मार खेप्नु परिरहेको छ ।

त्यहाँ खाद्यान्न नपाएपछि घन्टौं हिँडेर पूर्वी नेपालका सीमावर्ती बजारहरुबाट उनीहरुले दैनिक उपभोग्य वस्तु खरिद गरिरहेका छन् ।

नेपालका सीमावर्ती क्षेत्रमा आएर त्यस्ता वस्तु किन्न आउने दार्जीलिङका वासिन्दाको संख्या दिनहुँ बढिरहेको छ ।

गोर्खाल्याण्डको माग राखेर दार्जीलिङमा गरिएको आम हड्ताल बिहीबार २९ औं दिन पुगेको छ ।

खाद्यान्न

हड्तालका सुरुवाती दिनमा त्यहाँका सर्वसाधारणले जोगाड गरेका खाद्यान्न उपभोग गरे ।

तर हड्ताल निरन्तर चलिरहँदा उनीहरु नेपालका सीमावर्ती क्षेत्रमा खाद्यान्न खरिद गर्न आउन थालेका हुन् ।

इलामको पशुपतिनगर, मानेभन्ज्याङ लगायत क्षेत्रका खाद्यान्न पाइने पसलहरुमा अचेल दार्जीलिङका नेपाली भाषीहरुको घुईंचो छ ।

पशुपतिनगर बजारको एउटा किराना पसलमा भेटिएका उनीहरुमध्ये दार्जीलिङ नाला गाउँबाट चार घन्टा हिँडेर पशुपतिनगर आएका प्रणेश क्षेत्रीले त्यहाँ खाद्यान्न संकट निकै गहिरिँदै गएको बताए ।

दृष्टिकोण: ‘गोर्खा समुदायको स्वाभिमानमा चोट’

त्यस्तै अर्को पसलमा चामल, दाल लगायत वस्तु खरिद गर्दै गरेका दार्जीलिङ पोख्रेबुङका रतन क्षेत्रीले भने, 'धेरै समस्या छ । मान्छेले राम्ररी खान पाएका छैनन् । काम गर्न पाएका छैनन् । सामान पाए पनि महंगो छ ।'

आरोप

आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले खाद्यान्न अभावमा राज्य सरकार नै दोषी भएको आरोप लगाए।

उनले भने, 'खाद्यान्न राज्य सरकारले रोकेको हो पुलिस लगाएर ।'

तर पश्चिम बंगाल सरकारकी मुख्यमन्त्री ममता बेनर्जीले पहाडका जनताले दुःख पाएको भन्दै हड्ताल फिर्ता गरेर वार्तामा आउन यस अघि नै आग्रह गरिसकेकी छिन् ।

आन्दोलनरत मोर्चाले भने राज्य सरकारको प्रस्तावलाई अस्वीकार गर्दै आएको छ ।