हुण्डी रोक्ने नीति ल्याउन सरकारलाई निर्देशन

  • 13 जुलाई 2017
वैदेशिक रोजगारमा जान उत्सुक नेपाली कामदार
Image caption वैदेशिक रोजगारमा जान उत्सुक नेपाली कामदार।

संसदको अर्थ समितिले विदेशमा काम गर्ने नेपालीहरुले घर पठाउने रकम ‍औपचारिक ब्यांकिंग माध्यमबाट मात्र ल्याउने सुनिश्चित गर्न विनिमय दरमा सहुलियत लगायत आवश्यक नीतिगत व्यवस्था गर्न सरकारलाई बिहीबार निर्देशन दिएको छ।

देशको अर्थतन्त्रको मेरुदण्ड बनिसकेको विप्रेषण अझै पनि ठूलो परिमाणमा गैरकानुनी हुण्डीमार्फत आउने हुँदा वार्षिक अर्बौं रुपियाँ बराबरको विदेशी मुद्रा देश भित्रिन नसकेको राष्ट्र ब्यांकले बताएको छ।

सकिन लागेको यो आर्थिक वर्षको दश महिनामा साढे पाँच खर्ब रुपियाँभन्दा धेरै विप्रेषण आम्दानी भएको राष्ट्र ब्यांकको पछिल्लो आँकडाले देखाउँछ।

यही कारण वैदेशिक रोजगारले देशको कूल गार्हस्थ उत्पादनको झण्डै एक तिहाई हिस्सा ओगटिसकेको छ।

टड्कारो

तर सबै विप्रेषण आम्दानी ब्यांकिंग माध्यमबाट आउन सकेको छैन।

खाडी राष्ट्रबाट करिब ९० प्रतिशत कानुनी माध्यमबाट आउने भए पनि केही विकसित मुलुक, भारत अनि दक्षिण कोरियाबाट अझै पनि उल्लेख्य परिमाणमा गैरकानुनी हुण्डी मार्फत यस्ता रकम भित्रिन्छन्।

हुण्डी फस्टाएको सबभन्दा टड्कारो उदाहरण दक्षिण कोरिया बनेको छ।

त्यहाँबाट वार्षिक करिब ६० अर्ब रुपियाँ नेपालीले आम्दानी गरे पनि त्यसको सात आठ प्रतिशत मात्र ब्यांकिंग प्रणालीबाट भित्रिने गरेको अर्थ समितिका सभापति प्रकाश ज्वालाले बताएका छन्।

दक्षिण कोरिया जस्तै अन्य मुलुकबाट पनि यसरी हुने हुण्डी कारोबारले विदेशी मुद्रा आयमा वार्षिक अर्बौंको नोक्सानी पुर्याइरहेकोले यसलाई सम्बोधन गर्न सरकारलाई उत्प्रेरक नीति अपनाउन समितिले निर्देशन दिएको ज्वालाले बताए।

"विनिमय दरमा छूट दिएर तथा सेवा शुल्क घटाएर वा हटाएर हुण्डीमार्फत हुने कारोबारलाई ब्यांकिंग माध्यममा ल्याउन हामीले निर्देशन दिएका छौं," उनले भने।

के हो हुण्डी?

निश्चित सेवा शुल्क तिरेर ब्यांक वा रेमिटेन्स कम्पनीमार्फत पैसा घर पठाउनुको साटो, आफुले कमाएको पैसा विदेशमै कुनै एजेण्टलाई दिएर सोही एजेण्ट सम्बद्ध व्यक्तिमार्फत स्वदेशमा आफन्तलाई नेपाली मुद्रा उपलब्ध गराइने प्रक्रियालाई हुण्डी भनिन्छ।

यसो गर्दा विदेशी मुद्रा भित्रिंदैन।

आयातमा पूर्णत: निर्भर नेपालका लागि विदेशी मुद्रा अति नै महत्वपूर्ण मानिन्छ।

त्यसमाथि कतिपय अवस्थामा त हुण्डी कारोबारमा शुरुशुरुमा लोभ्याएर पछि ठगी भएका समेत घटना छन्।

Image caption विदेश जान उत्सुक नेपाली कामदारलाई पैसा पठाउने भरपर्दो, कानुनी र देशलाई फाइदाजनक उपायबारे पनि बताइनु पर्ने आवश्यकता औंल्याइएको छ।

खासमा हुण्डीमार्फत कुन देशबाट कति रकम आउँछ भन्ने यकीन आँकडा उपलब्ध छैन।

तर विशेषगरि व्यापारिक सम्बन्ध भएका मुलुकहरुबाट चाहिं व्यापारीहरुले विदेशी मुद्रा उतै लिएर सामान ल्याउने उपाय अपनाउँदा हुण्डी कारोबार बढ्छ।

हंगकंग, सिंगापुर, भारत, संयुक्त अरब इमिरेट्सबाट त्यसरी व्यापारिक सामान आउने अनुभव सरकारको छ।

त्यसो भए दक्षिण कोरियाबाट चाहिं किन सबैभन्दा बढी हुण्डी भएको त?

राष्ट्र ब्यांकका प्रवक्ता नारायण पौडेलले भने, "दक्षिण कोरियामा सरकार अथवा केन्द्रिय ब्यांकको कानुनले हो वा प्रशासनिक अड्चनले हो, त्यहाँ देश बाहिर रकम पठाउने रेमिटेन्स कम्पनीलाई प्रोत्साहन वा स्वीकृति दिने गरेको छैन।"

अहिले देशको ढुकुटीमा ११ खर्ब रुपियाँ बराबरको विदेशी मुद्राको सञ्चिती रहेको छ।

हुण्डी न्यूनीकरण गर्न सके ढुकुटीमा त्यो रकम उल्लेखनीय रूपमा बढ्न सक्ने राष्ट्र ब्यांकको आशा छ।

तर त्यसका निम्ति सरकारी नीति नियम मात्र नभइ काम गर्ने जाने नेपालीहरुलाई पनि यथेष्ट जानकारी गराउनु उत्तिकै महत्वपूर्ण हुने देखिन्छ।