दृष्टिकोण: ‘ममताले गोर्खा समुदायको स्वाभिमानमा चोट पुर्याइन्’

  • 13 जुलाई 2017
गोर्खाल्याण्ड आन्दोलन तस्वीर कपीराइट Diptendu Dutta/AFP/Getty Image

गोर्खाल्याण्डको माग गर्दै अहिले दार्जिलिङमा भइरहेको आन्दोनल केही हदसम्म सन् १९८५-८६ को आन्दोलन जस्तै लागिरहेको छ।

त्यसबखत गोर्खा लिबरेशन फ्रन्ट यो क्षेत्रको एक बलियो संगठन थियो। उनीहरुले करिब चार-पाँच वर्ष आन्दोलन चलाएका थिए। अहिलेको अवस्था पनि त्यस्तै देखिंदैछ।

यसको कारण के हो भने गोर्खाहरु एकदमै आक्रोशित छन्। उनीहरुको आम्दानीमा पनि चोट पुगेको छ।

गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशनलाई लिएर गरिएको व्यवस्थाबारे गोर्खा समुदाय विशेष रुपमा असन्तुष्ट छ।

उनीहरुलाई लागेको छ कि पश्चिम बंगाल सरकारले त्यसको सफलताको बाटोमा हरेक प्रकारले बाधा पुर्याइरहेको छ। र त्यसलाई विफल तुल्याउन सबै प्रकारको षडयन्त्र र कोसिस गरिएको छ।

गोर्खाल्याण्डको माग

यसकारण जबसम्म छुट्टै राज्य पाईंदैन तबसम्म आफ्नो क्षेत्रमा आफूले चाहेको काम गर्न सकिंदैन भन्ने उनीहरुलाई अनुभव भैरहेको छ।

यसका पछाडि केही ठूला कारणहरु छन्। एक त ममता ब्यानर्जीको सरकारले पहाडमा गोर्खा समुदायबीच विभिन्न तरिकाले साम्प्रदायिक फूट ल्याउने प्रयास गरेको छ।

तस्वीर कपीराइट Diptendu Dutta/AFP/Getty Image

र सबैभन्दा ठूलो कुरा के पनि हो भने गोर्खा समुदायका साथ त्यहां रहेका लेप्चा र भूटियाहरुलाई पनि विभाजित गर्ने कोसिस गरिएको छ।

संगसंगै गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशनले पाउँदै आएको रकममा पनि थरीथरीका वाधा सृजना गरिएको छ, यद्यपि केन्द्रबाट आउने पैसा भने आइरहेकै छ।

यसबाट गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशनको सत्ता सम्हालिरहेको गोर्खा जनमुक्ति मोर्चा रुष्ट छ।

यसो हेर्दा गोर्खाल्याण्डलाई स्वायत्तता दिन भनी गरिएको प्रयोग पूर्ण रुपमा असफल भएको जस्तो देखिन्छ।

र अहिले जे गडबडी भएको छ, त्यसबाट नेपालीभाषी गोर्खा समुदायको स्वाभिमानमा ठेस पुगेको छ।

गडबडी के हो भने ममता ब्यानर्जीको सरकारले अचानक दार्जिलिङ सहित पश्चिम बंगालका सबै कुनामा बंगाली भाषाको पढाइ अनिवार्य हुने घोषणा गरिदिएको थियो।

त्यस्तो आदेश पछि फिर्ता लिइयो, तर त्यसबेलासम्म आगोमा घिउ थप्ने काम भइसकेको थियो र आगो पनि फैलिन थाल्यो।

यही कारणले गर्दा गोर्खा समुदायलाई आफू एक फरक जाति र समुदाय हो भन्ने लागेको छ। बाँकी बंगालसंग आफ्नो कुनै तालमेल नरहेको पनि उनीहरुलाई लागेको छ।

तर साँचो कुरा के पनि हो भने वर्षौंदेखि बंगाली र गोर्खाहरु संगै बस्दै आएका थिए।

पर्यटनमा नोक्सान

मलाई लाग्छ गोर्खा समुदायका मानिसहरुले विवेक प्रयोग गरिरहेका छैनन्।

त्यहाँ कामकाज बन्द गर्न सकिन्छ। त्यहाँको टोइ ट्रेनका नामले प्रसिद्ध रेल सेवा पनि रोक्न सकिन्छ।

तस्वीर कपीराइट Diptendu Dutta/AFP/Getty Image

सन् १९६०-६१ मा बांग्ला भाषाको विषयलाई लिएर असममा रहेका बंगालीहरुले आन्दोलन गरेका थिए, त्यसबेला तिनीहरु रेल लाइनमा गएर बसेका थिए।

रेलवे सेवा बन्द गरिदिन सकिन्छ। तर स्टेशनमा आगो लगाउने, पर्यटनको आधारभूत संरचनालाई नै ध्वस्त पार्ने जस्ता काम बुद्धिमत्तापूर्ण कदापि होइनन्।

सहि सोच राख्‍ने गोर्खा समुदायले यस्तो काम गरेको हुन सक्दैन। यो गोर्खाल्याण्ड आन्दोलनलाई हानी पुर्याउन खोज्नेहरुको काम हुन सक्छ।

मानिलिउँ आजैबाट उनीहरुले गोर्खाल्याण्ड पाए रे, काल्पनिक अवस्थै भएपनि त्यो अवस्थामा उनीहरुले बिगारेका सबै संरचना फेरि बनाउन खर्च त गर्नै पर्ने हुन्छ।

यदि मानिसहरु साँच्चै आन्दोलनकारीहरुका साथमा छन् भने शान्तिपूर्ण तरिकाले पनि आन्दोलन संचालन गर्न सकिन्छ।

गोर्खा जनमुक्ति मोर्चा र उसका नेता बिमल गुरुङ र रोशन गिरीले मानिसहरु आफ्नो पक्षमा रहेको भन्दै छन्। तर साँच्चै उनीहरुको साथमा जनता छन् भने रेलवे स्टेशन जलाउने, चिया बगानमा आक्रमण गर्ने, पूर्वाधारका संरचनामा क्षतिपुर्याउने जस्ता कामहरुलाई सहि भन्न सकिन्न।

किनभने टि, टिम्बर र टुरिजम् अर्थात चिया, काठ र पर्यटन दार्जिलिङको अर्थतन्त्रको मुख्य श्रोत हुन्।

नयाँ राज्य गठन गर्ने बारे प्रश्न

यदि तपाईं अलग राज्यको माग गरिरहनु भएको छ भने यी सबै उद्योगहरुलाई नाफा कमाउन सक्ने अवस्थामा कायमै राख्‍नु कुनै पनि राज्यको लागि एकदम जरुरी हुन्छ।

यदि तपाईंले केन्द्रलाई यो आधारभूत शर्त पूरा गर्ने भरोसा दिन सक्नु भएन भने केन्द्रले नयाँ राज्य गठन गर्ने मागमाथि कहिले पनि विचार गर्ने छैन।

यो कुरा गोर्खाल्याण्डका वरिष्ठ नेताहरुले बुझेका छन्, तर युवा नेताहरुले यो कुरा बुझेका छैनन्।

उनीहरुले अचानक आएको पैसा देखेका छन्, तर त्यो पैसा कहाँबाट आइरहेको हो भन्ने उनीहरुले देखेका छैनन्।

त्यस्ता मानिसहरु नै जोशमा आएर ध्वंसात्मक कामहरु गरिरहेका छन् र उनीहरुले यो कार्य रोक्नै पर्छ। किनभने त्यस्ता काम नगरिकनै पनि तिनीहरुले आफ्नो आन्दोलनलाई निरन्तरता दिन सक्छन्।

नोट: बीबीसी हिन्दीबाट लिइएको माथिको लेखमा व्यक्त विचार लेखकका निजी हुन्।