शिआबोको निधनपछि चीनको आलोचना

  • 14 जुलाई 2017
निधन तस्वीर कपीराइट EPA
Image caption चिनियाँ अभियानकर्ता ल्यो शिआबोको कडा सुरक्षा पहराबीच अस्पतालमा निधन भएको छ

चिनियाँ प्रख्यात अभियानकर्ता ल्यो शिआबोको कलेजोको क्यान्सर उपचार देश बाहिर गर्न नदिएकोमा चीनले अन्तर्राष्ट्रिय रुपमा आलोचना खेपिरहेको छ।

राज्यद्रोह गरेको अभियोगमा ११ वर्षे जेल सजाय काटिरहेका ल्योको ६१ वर्षको उमेरमा हिजो चीनको एक अस्पतालमा निधन भएको थियो।

यी अभियानकर्तालाई सम्मान व्यक्त गर्ने क्रममा उनलाई सन २०१० को नोबेल शान्ति पुरस्कार प्रदान गरेको नोबेल समितिले उनको मृत्यूको जिम्मेबार मुख्यत: चीन रहेको बताएको छ।

चीनमाथि अहिले ल्योकी श्रीमती तथा कवि ल्यो शियालाई मुक्त गर्न आग्रह गरिएको छ।

नजरबन्द

उनी घरमै नजरबन्दमा राखिएकी छन्।

चीनमा औपचारिक प्रतिक्रिया अहिले दमित छ तर राज्य सञ्चालित एक अखबारले "पश्चिमा शक्तिहरुले" उक्त मुद्दाको राजनीतिकरण गरेको आरोप लगाएको छ।

तस्वीर कपीराइट EPA
Image caption चिनियाँ अभियानकर्ता ल्यो शिआबोको कडा सुरक्षा पहराबीच अस्पतालमा निधन भएको छ

ल्योलाई गत महिना जेलबाट उत्तर पूर्वी शहर शेङयाङको एउटा अस्पतालमा सारिएको थियो।

त्यहाँ पनि उनीमाथि कडा सुरक्षा पहरा थियो।

पश्चिमा मुलुकहरुले ल्योलाई देशबाहिर लगेर उपचार गर्न आग्रह गरेका थिए तर चीन सरकारले त्यो अस्वीकार गरेको थियो र चिनिया चिकित्सा विज्ञहरुले उनी असाध्यै विरामी रहेकाले यात्रा गर्न नसक्ने बताएका थिए।

तर हालै अस्पतालमा ल्योलाई जाँच गरेका एकजना जर्मन र एकजना अमेरिकी डक्टरले उनले यात्रा गर्न सक्ने बताएका थिए।

उनको उपचार टोलीका मुख्य डाक्टर टेङ युले भने, "उनकी श्रीमती र नातेदारहरुबीच ल्यो शिआबोको शान्तिपूर्ण निधन भयो"।

उनले अन्त्यमा आफ्नी श्रीमतीलाई भनेका थिए 'राम्रोसँग बस्नु'।