'नाफा नोक्सानी हेरेर मात्रै निर्णय'

  • 14 जुलाई 2017
वायुसेवा

विमान भाडामा लिएर आफ्नो उडान नियमित गर्ने नेपाल वायुसेवा निगमको योजना लागू गर्न ढिलाई हुँदा त्यसले दैनिक दशौं लाख नोक्सानी हुने राष्ट्रिय ध्वजावाहकका अधिकारीहरुले चेतावनी दिएका छन्।

नियमित मर्मतका कारण आफ्नो एउटा विमान नभएकाले निगमले त्यसको साटो छोटो समयका लागि विमान भाडामा लिन खोजेको हो।

तर पर्यटन मन्त्रालयले सम्पूर्ण आय व्ययको अनुमान सहितको प्रस्ताव निगमले प्रस्तुत गरेपछि मात्र यसबारेमा निर्णय गरिने जनाएको छ।

भाडामा लिन लागिएको भुटानको हवाईजहाजले १५ वर्ष उडान भरिसकेको बताइएको छ।

मर्मत

आफ्नो एउटा विमान नियमित मर्मतको लागि डेढ महिना सम्म साथमा नहुने भएपछि ६ महिना अगाडि नै नेपाल वायुसेवा निगमले विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरी केही समय अघि भुटानको विमान भाडा लिने सम्झौता गरेको थियो।

तर हवाई नीति २०६३ मा १५ वर्ष उडान भरिसकेको विमान आयात गर्न नमिल्ने प्रावधान भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिन पर्यटन मन्त्रालयको अनुमोदन पर्खिएको छ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले भने, "हामीले ६ महिनादेखि भाडामा विमान लिने तयारी गर्यौं र मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा पटक पटक खवर गरेका छौं। तर हाम्रो प्रस्ताव स्वीकार गरिन्छ कि गरिदैँन अझै केही भन्न सक्ने अवस्था छैन्। "

निगमको १९० सिट क्षमता भएको विमान नियमित मर्मतका लागि बिहीबार सिंगापुर लगिएको छ।

त्यसका कारण अवदेखि निगममाथि आफ्ना यात्रुलाई अन्य विमानहरु मार्फत गन्तव्य मुलुकमा पुर्याउनुपर्ने बाध्यता भएको छ।

प्रभावित

विमान मर्मतमा पठाएपछि निगमलाई दैनिक ५० लाख रुपियाँ भन्दा बढी घाटा लाग्ने बताइएको छ।

पोल्याण्डको भ्रमणबाट बिहीबार स्वदेश फर्किएका पर्यटन सचिव शंकरप्रसाद अधिकारीले सो विषयमा छलफल शुरु भइसकेको बताए।

उनले भने, "विमान भाडामा ल्याएर नाफा कमाउन सकिएन भने त त्यो पनि राम्रो भएन। मैले निगमलाई अनुमानित खर्च र नाफाको हिसाव लिएर आउनु भनेको छु। "

निगमका अनुसार भाडाको विमानबाट नाफा भने हुने छैन।

तर राष्ट्रिय ध्वजाबाहकको प्रतिष्ठा, विश्वसनीयता र अत्यधिक घाटा कम गर्न भाडाको विमानले मद्दत गर्ने निगमको दावी छ।

विमान भाडामा ल्याउने विषयमा देखिएको अन्योलसँगै निगमले नयाँ दिल्ली, बैंग्लोर, दोहा र क्वालालम्पुरका निम्ति टिकट बिक्री बन्द गरिसकेको छ।