ल्यो शिआबोकी विधवालाई रिहा गर्न माग

  • 14 जुलाई 2017
थुना तस्वीर कपीराइट Handout/AFP

नोबेल शान्ति पुरस्कार विजेता चिनियाँ अभियानकर्ता ल्यो शिआबोकी विधवालाई रिहा गर्न चीनसमक्ष माग भइरहेको छ।

उनकी श्रीमती ल्यो शिया सन् २०१० देखि आफ्नै घरमा नजरबन्दमा छिन्।

कलेजोको क्यान्सरबाट पीडित ल्यो शिआबोको बिहीबार निधन भएको थियो।

संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्त जैद राद अल हुसैनले घुमफिर गर्न पाउने ल्यो शियाको अधिकार सुनिश्चित गर्न चीनलाई आग्रह गरेका छन्।

एकजुट

तस्वीर कपीराइट Reuters

ल्यो शियाका वकिलले उनको रिहाइका लागि चीनलाई मनाउन अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्ने बीबीसीलाई बताए।

कैदमा रहेका बेला ल्यो शिआबोको निधनलाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट भइरहेको आलोचनाको चीनले खण्डन गरेको छ।

चीनमा प्रजातान्त्रिक सुधारको माग गर्दै अभियान चलाएको आरोपमा ल्यो शिआबोले ११ वर्षको जेल सजाय भोगिरहेका थिए।

ल्यो शिआबोको मुद्दा आन्तरिक मामिला भएको र त्यसबारे अनुपयुक्त टिप्पणी गर्ने कसैको अधिकार नभएको चिनियाँ विदेश मन्त्रालयका एकजना प्रवक्ताले बताएका छन्।

चिनियाँ सञ्चारमाध्यमहरुले ल्यो शिआबोको निधनबारे केही उल्लेख नगरिरहेको बताइएको छ।