केन्द्रीय सदस्य मनोनयनबारे विवाद

  • 14 जुलाई 2017
राप्रपा तस्वीर कपीराइट RPP

दुईवटा पार्टीबीचको एकीकरणपछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा केन्द्रीय सदस्य मनोनयनलाई लिएर चर्को विवाद शुरु भएको छ।

पार्टी अध्यक्ष कमल थापाले सहमति विपरीत केन्द्रीय समितिमा ४२ जना सदस्य थपेको भन्दै वरिष्ठ नेता पशुपति समशेर राणाले अध्यक्षको सार्वजनिक रुपमै आलोचना गरेका छन्।

संविधान संशोधनलाई लिएर पार्टीभित्र फरक मत राख्दै आएका सो पार्टीका सांसदहरुले एकलौटी निर्णयको परिपाटी बढ्दै गएको भन्दै विभाजनको समेत चेतावनी दिएका छन्।

तर अध्यक्ष थापानिकट नेताहरुले पार्टीको विधान अनुसार नै अध्यक्षले कार्यसमिति विस्तार गरेको भन्दै बचाउ गरेका छन्।

बहस

सरकारमा जाने वा नजाने र संविधान संशोधनको पक्ष वा विपक्षमा उभिने भन्ने बहसमा अल्झेको जस्तो देखिएको राप्रपामा केन्द्रीय समिति विस्तारले थप विवाद निम्त्याइदिएको छ।

झण्डै एक वर्षअघि एकताको निर्णय गरेका राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशन लगत्तै शुरु भएको विवादमध्ये पछिल्लो विवादमा तत्कालीन राप्रपाका अध्यक्ष रहेका र एकतापछिको राप्रपाका वरिष्ठ राणा जोडिएका छन्।

अध्यक्ष थापाले पार्टीको केन्द्रीय समितिमा ४२ जनालाई मनोनयन गरेपछि राणाले केन्द्रीय समिति र कार्य सम्पादन समितिको अस्तित्वलाई समेत नकारेर अध्यक्ष थापाले पार्टीलाई एकलौटी ढंगले लैजान खोजेको आरोप लगाएका छन्।

हालको राप्रपा दुईवटा पार्टीको एकीकृत स्वरुप भएकाले नेताहरुको परामर्श र सहमतिमा केन्द्रीय समिति विस्तार गरिनुपर्ने उनको तर्क छ।

बीबीसीसँग कुरा गर्दै उनले पार्टी एकताकै बेला त्यस्तो सहमति गरिएको दावी गरे।

राणाले भने, "लोकेन्द्रबहादुर चन्द र मलाई सोधेरै विस्तार गर्ने भन्ने सहमति के भएको थियो तर मलाई नसोधी त्यसो गरियो। म पूर्णरुपमा असन्तुष्ट छु।"

द्वन्द्व

उनले जारी गरेको विज्ञप्तिमा निर्णय फिर्ता लिएर पार्टीलाई बिग्रह तथा प्रत्युत्पादक आन्तरिक द्वन्द्वमा फँस्नबाट बचाउन समेत आग्रह गरिएको छ।

त्यसो नगरिए आफूले भनेकै बाटोमा पार्टी अघि बढ्ने उनले बताएका छन्।

तस्वीर कपीराइट RPP

संविधान संशोधनका विषयमा पार्टीभित्र फरक मत राख्दै आएका राप्रपाका केही सासंदहरु शुक्रबारको संसदीय दलको बैठक समेत उपस्थित नभएको बताइएको छ।

अध्यक्ष थापाको पछिल्लो निर्णय पछि उनीहरु थप आक्रोशित बनेको देखिन्छ।

तीनैमध्येका एक हुन् सांसद विराज विष्ट।

उनले भने, "यो यति हदसम्म भइसक्यो कि कति सहेर बस्ने, कति रोकेर बस्ने भन्ने भएको छ। पानीको फोकाजस्तै भएको छ। यो कुनैपनि बेला फुट्न सक्छ।"

आकांक्षी

अध्यक्ष थापानिकट नेताहरुले भने शीर्षस्थ नेताहरुसँगकै सल्लाहमा विधानको अधिकार प्रयोग गरेर अध्यक्षले केन्द्रीय समिति विस्तार गरेको बताएका छन्।

सहायक महामन्त्री राजाराम बर्तौलाले भने, "सरसल्लाह गरेरै केन्द्रीय समिति विस्तारको निर्णय गर्नुभएको छ। स्पष्टरुपमा विधानले दिएको अधिकारलाई प्रयोग गरेर उहाँले निर्णय गर्नुभएको हो। सबै आकांक्षी नअटेको हुनसक्छ।"

साउनको ४ गते राप्रपाको केन्द्रीय समितिको बैठक बोलाइएको छ।

तर उक्त बैठकमा स्थानीय तहको निर्वाचनमा भोगेको पराजयलाई लिएर अध्यक्ष थापाले चर्को आलोचना खेप्नुपर्ने ठानिएको छ।

त्यसमाथि पछिल्लो केन्द्रीय समिति विस्तारले आगोमा घ्यू थप्ने कतिपयको बुझाइ छ।