गोर्खाल्याण्डको समर्थनमा लण्डनमा प्रदर्शन

  • 15 जुलाई 2017
Image caption ब्रिटेनस्थित नेपाली भाषी समुदायले गोर्खाल्याण्डप्रति समर्थन जनाएका छन्

भारतको दार्जीलिङ क्षेत्रमा छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै आह्वान गरिएको आम हडताल एक महिना पुग्दा ब्रिटेनमा सो मागको समर्थनमा प्रदर्शनहरु गरिएका छन्।

दार्जीलिङ तथा आसपासका पहाडी इलाकाबाट आएर अहिले ब्रिटेनमा बसोबास गरिरहेका नेपाली भाषी समुदायले भारत सरकारलाई गोर्खाल्याण्डको माग पुरा गर्न आह्वान गरेका छन्।

शुक्रबार बिहान लण्डनको एल्डविचस्थित भारतीय उच्चायुक्तको कार्यालयबाहिर दार्जीलिङ तथा आसपासका पहाडी इलाकाबाट आएर अहिले ब्रिटेनमा बसोबास गरिरहेका नेपाली भाषी समुदाय भेला भएका थिए।

उनीहरुले पश्चिम बङ्गाल राज्य सरकारले नेपाली भाषी समुदायमाथि दमन गरिरहेको भन्दै त्यस्तो दमन रोक्न माग गरिएका प्लेकार्डहरु पनि बोकेका थिए।

आक्रोश

दार्जीलिङमा जारी आम हडताल एक महिना पुग्दा पनि भारत सरकारले त्यसको सुनुवाइ नगरेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे।

युके दार्जीलिङ समाजका अध्यक्ष रोशन गुरुङले भने, "थिचोमिचो कस्तो छ भने विकासको कुरै नगरे हुन्छ। ब्रिटिशले बनाइदिएको टोय ट्रेनलाई सहयोग छैन। संसार प्रसिद्ध चियापत्तीलाई पनि ध्यान दिइएको छैन।"

त्यसो त दार्जीलिङ र वरिपरिका पहाडी इलाकामा बसोबास गर्दै आएका नेपाली भाषी समुदायले आफ्नो छुट्टै राज्य माग गर्न लागेको यो पहिलो पटक होइन।

सन् १९८० को दशकमा सुवास घिसिङको नेतृत्वमा महिनौं चलेको आन्दोनलमा सैयौंको ज्यान गएको थियो।

त्यसपछि केन्द्र तथा राज्य सरकारले छुट्टै दार्जीलिङ गोर्खा पर्वतीय परिषद गठन गर्न सहमति जनाएका थिए।

अहिले गएको एक महिना देखि जारी आम हडतालका कारण जनजीवन अस्तव्यस्त बन्न पुगेको छ र पर्यटन व्यवसायमा नराम्रो असर परेको छ।

आन्दोलन

तस्वीर कपीराइट AFP
Image caption आन्देालन चर्कँदै जाँदा जनजीवन अस्तव्यस्त बन्न पुगेको छ

हाल ब्रिटेनको बर्मिङघममा बसोबास गरिरहेकी लता तामाङले हाल चलिरहेको आन्दोलन शान्तिपूर्ण नै हुनुपर्नेमा जोड दिइन्।

उनले भनिन्, "हामी सधैं शान्तिपूर्ण आन्दोलन गर्छौं। गोर्खालीहरु शान्तिप्रेमी समुदाय हुन्। हामी जस्तो परिस्थिति पनि स्वीकार्ने र सजीलै रमाउने मानिसहरु हौं।"

दार्जीलिङ तथा आसपासका पहाडी इलाकामा बसोबास गर्ने गोर्खालीहरुलाई शान्तिप्रेमी समुदाय भनिए पनि हाल भारत तथा चीनबीच तनाव बढिरहेको भनिएको बेला यो आन्दोलन हिंसात्मक बन्न पुग्ने हो कि भन्ने पनि कतिपयले आशंका गरेको देखिन्छ।

तर हाल ब्रिटेनको फार्नबरोमा बसोबास गरिरहेका ब्रिटिश सेनाका सेवानिवृत्त मेजर टिकेन्द्रदल देवानले दुई मुलुकबीचको तनावले गोर्खाल्याण्डको मागलाई असर पर्न नहुने बताए।

उनले भने, "यो आन्दोलनको चीनसंग कुनै लेनादेना छैन। यो माग एकसय वर्ष भन्दा पुरानो हो। खास धोका चाहिं ब्रिटिशले दिएको हो। नेपालले पनि याद गरेन, त्यति सहयोग गरेन।"

आशंका

कतिपय विश्लेषकहरुचाहिं नेपालसंग सीमा जोडिएको भूभागमा बसोबास गर्न नेपाली भाषी समुदायकालागि छुट्टै राज्य दिँदा पछि पृथकतावादी आन्दोलन चर्कन सक्ने आशंकाले पनि भारतीय नीत‌िनिर्माताहरु सो मागप्रति त्यति सकारात्मक नभएको हुनसक्ने आशंका गर्दछन्।

तर आन्दोलनका समर्थकहरु चाहिं त्यस्तो भनाइसंग सहमत छैनन्।

गएको झण्डै एकसय वर्ष देखि चलीरहेको भनिएको छुट्टै गोर्खाल्याण्ड राज्यको माग छिट्टै पुरा होला कि नहोला यसै भन्न सकिने स्थिति देखिंदैन।

तर नेपालसंग सीमा जोडिएको नेपाली भाषी समुदायको मागप्रति भने नेपालभित्र मात्रै हैन, नेपाल बाहिर पनि चासो बढ्दै गएको देखिन्छ।