ट्रम्प जुनियरसँगको भेटमा पूर्व रुसी गुप्तचरपनि

  • 15 जुलाई 2017
तस्वीर कपीराइट AFP
Image caption डोनल्ड ट्रम्प जुनियर र रुसी वकिल नाटलिया भेसेलनित्स्क्याबीचको भेटवार्ता विवादमा परेको छ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका वरिष्ठ सहयोगी र ट्रम्प जुनियरसँग अघिल्लो वर्ष भएको एउटा बैठकमा एक जना पूर्व सोभियत गुप्तचर अधिकारी पनि सहभागी रहेको खुलासा भएको छ।

न्युयोर्कमा भएको उक्त बैठकमा ट्रम्पका ज्वाईँ ज्यारेड कुश्नर र चुनावी अभियानका अध्यक्ष पल म्यानफोर्टपनि सहभागी थिए।

ट्रम्पको चुनावी अभियानका सहयोगीहरु र रुसी व्यक्तिहरुबीच भएका गैर कुटनीतिक सम्वादको अहिलेसम्म प्राप्त सबैभन्दा बलियो प्रमाणका रुपमा उक्त भेटघाटलाई लिइएको छ।

बिहीबार प्यारिसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अधिकांश व्यक्तिले उक्त भेटवार्तालाई स्वीकार गर्ने उल्लेख गरे तर शून्य उपलब्धी हात लागेको बताए।

आरोप

सो भेटमा सहभागी भएका भनिएका रिनाट अख्मेटशीनले आफूले गुप्तचर हेर्ने रुसी सैनिक इकाइमा काम गरेको तर कहिले पनि जासूसीको औपचारिक तालिम नलिएको बताएका छन्।

सन् २०१५ मा वाशिङटन डीसीको एउटा अदालतमा दायर मुद्दामा खानीसम्बन्धी कम्पनीले आफ्ना निजी अभिलेखहरुलाई ह्याक गर्न खोजेको आरोप उनीविरुद्ध लगाएको थियो।

खानी सम्बन्धी एउटा कम्पनीले अख्मेटशीनलाई लण्डनसम्म पछ्याउन एक जना निजी जाँचकर्ता नै खटाएको थियो।

बैठक तस्वीर कपीराइट HERMITAGE CAPITAL
Image caption अख्मेटशीनले ट्रम्प टावरमा भएको बैठकमा आफू सहभागी भएको बताएका छन्

अदालतको दस्तावेजमा उनले साइबर हमाला गर्ने योजना बुनेको आरोप लगाइएपनि उनले त्यसलाई अस्वीकार गरेका छन्।

क्रेमलिनका प्रवक्ताले अख्मेटशीनको बारेमा रुसी सरकारलाई केहीपनि थाहा नभएको बताएको छ।

वकालत

उनी स्वंयले चाँहि द वाशिङटन पोष्ट समाचारपत्रलाई सन् २००९ मा आफूले अमेरिकी नागरिकता लिएको तर रुसी नागरिकता पनि कायमै राखेको जनाएका छन्।

उनी एक जना कानूनी मान्यता लिएका लबिइष्ट अर्थात वकालतकर्ता पनि हुन।

उच्च रुसी अधिकारीहरुको अमेरिकामा रहेका सम्पत्ति रोक्का गर्ने सन् २०१२ मा ल्याइएको एउटा कानून उल्टाउन हालैका महिनाहरुमा उनले वकालत गर्दै आएका थिए।

एक जना रुसी वकिल नाटलिया भेसेलनित्स्क्यासँगै उनी ट्रम्प टावरमा भएको एउटा छलफलमा सहभागी भएका थिए।

डोनल्ड ट्रम्प जुनियरका इमेलका अनुसार राष्ट्रपति पदकी उम्मेदवार हिलरी क्लिन्टनलाई क्षति पुर्याउने सामाग्री उपलब्ध गराउने प्रतिबद्धता उक्त बैठकमा गरिएको थियो।

तर त्यो विवरण बाहिर आएपछि राष्ट्रपति ट्रम्पका जेठा छोराले उक्त भेटघाटलाई साधारण खालको भेटका रुपमा प्रस्तुत गरिरहेका छन्।