टर्कीमा विफल ‘कू’ प्रयासको एक वर्ष

  • 15 जुलाई 2017
मुद्दा तस्वीर कपीराइट AFP/Getty Images

टर्कीमा 'कू' अर्थात् सत्तापलट गर्ने विफल प्रयास भएको एक वर्ष पुगेको दिन शनिबार इस्तानबुल र अंकारामा बृहत् र्यालीहरुको आयोजना गरिंदैछ।

एक वर्षअघि ठ्याक्कै आजको दिन रुष्ट सैनिकहरुले सरकारलाई हटाउने प्रयासमा सरकारी भवनहरुमा बमबारी गर्नुका साथै मानिसहरुमाथि गोली हान्न शुरु गरेका थिए।

त्यसक्रममा २६० जनाभन्दा बढीको ज्यान गएको थियो भने करिब २,२०० जना घाइते भएका थिए।

रुष्ट सैनिकहरुको नियन्त्रणमा पर्नबाट बल्लतल्ल जोगिएका राष्ट्रपति रेजेप तायीप एर्दोआनले ठ्याक्कै संसद्‍माथि बम प्रहार गरिएको बेला सम्बोधन गर्ने कार्यक्रम छ।

पुनर्जन्म

रुष्ट सैनिकहरुसँग सर्वसाधारण जुधेका इस्तानबुलस्थित एउटा पुलमा आयोजना गरिने र्यालीलाई पनि एर्दोआनले सम्बोधन गर्नेछन्।

टर्कीमा आज सार्वजनिक बिदा दिइएको छ।

तस्वीर कपीराइट EPA

उनका समर्थकहरुले सत्ता हत्याउने प्रयास विफल हुनुलाई टर्कीको पुनर्जन्मको रुपमा व्याख्या गर्ने गरेका छन्।

तर विरोधीहरुले ५०, ००० जनालाई गिरफ्तार र डेढ लाख जनालाई बर्खास्त वा निलम्बन गरिएको विषयलाई उठाउने गरेका छन्।

शुद्धीकरण

सत्तापलट गर्ने प्रयास गरिएको एक वर्ष पुगेको पूर्वसन्ध्यामा अधिकारीहरुले सुरक्षा बल तथा सरकारी कर्मचारीमाझ थप 'शुद्धीकरण' गरेका छन्।

टर्कीको सरकारले धार्मिक गुरु फेतुल्लाह गुलेनका समर्थकहरु सत्तापलटमा संलग्न भएको आरोप लगाउँदै आएको छ।

अमेरिकामा बस्दै आएका गुलेनले आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन्।

गुलेनलाई सुपुर्दगी गर्न टर्कीले गरेको माग वाशिङटनले अस्वीकार गर्दै आएको छ।