मतदाता नामावली सङ्कलन सहज बनाउन आग्रह

  • 15 जुलाई 2017
निर्वाचन आयोग

प्रमुख दलहरुले सम्बन्धित जिल्लामै पुगेर मतदाताहरुले मतदाता नामावलीमा नाम दर्ता गराउनुपर्ने व्यवस्थामा परिमार्जन गर्न निर्वाचन आयोगसँग माग गरेका छन्।

त्यसो नगरिए योग्यता पुगेका लाखौं मतदाता मतदान गर्नबाट बञ्चित हुने उनीहरुको तर्क छ।

तर समयको चाप, जनशक्ति र साधनस्रोतको अभावका कारण पूर्वनिर्धारित कार्यक्रममा पुनर्विचार गर्न नसकिने निर्वाचन आयोगले बताएको छ।

निर्वाचन आयोगले आइतबारदेखि साउन १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयबाट नामावली सङ्कलन गर्ने बताएको छ।

अपर्याप्त

यही मेसोमा प्रमुख दलहरुले नेपालभित्र जहाँ सुकै रहेपनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने गरी व्यवस्था गर्न आयोगसँग माग गरेका हुन्।

उनीहरुले नाम दर्ता गराउनका निम्ति कम्तीमा एक महिनाको समय छुट्टयाउन माग समेत गरेका छन्।

सत्तारुढ नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले भने, 'यो १५ दिन खेतीपाती र वर्षाको समय भएकोले समय पर्याप्त भएन। काठमाण्डू उपत्यका र विभिन्न सदरमुकामहरुमा मानिसहरु अध्ययन वा जागिरका लागि बसेका हुन्छन् उनीहरु जहाँ छन् त्यहीँ मतदाता नामावलीमा दर्ता हुने व्यवस्था गर्न सकिए सहज हुन्थ्यो भनेर आयोगलाई भनेका छौं।'

माघ ७ गतेसम्म सबै तहका निर्वाचन गरिसक्ने संवैधानिक व्यवस्था भएपनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति तय भइ सकेको छैन्।

प्रमुख विपक्षी दल नेकपा एमालेक सचिव प्रदिप ज्ञवाली आयोगसँग पर्याप्त साधनस्रोत र जनशक्ति रहेकोले नामावली सङ्कलन प्रक्रियामा परिमार्जन गर्न समस्या नहुने बताउँछन्।

उनले भने, 'निर्वाचन आयोगसँग साधनस्रोत र प्रविधि दुवै छ। उसले अलिकति दुख कष्ट सहँदा गाह्रो हुँदैन, यसमा निर्वाचन आयोग लचिलो बन्नै पर्छ।'

पुनर्विचार

स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै गत फागुन ९ गते अघिसम्म १८ वर्ष उमेर पुगेका मतदाताको नाम अन्तिम मतदाता नामावलीमा कायम गरिएको आयोगले जनाएको छ।

अहिले आएर नामावली सङ्कलनको विधि र समय हेरफेर गर्न नसकिने आयोगका कायममुकायम सचिव महेश्वर न्यौपाने बताउँछन्।

उनले भने, 'समयमै चुनाव गराउने नै हो भने मतदाता जहाँ छन् त्यहीँ नामावली सङ्कलन गराउँदा प्रमाणिकरण लगायतका प्रक्रिया पुरा गर्न समय पुग्दैन।'

आयोगका अनुसार हाल एक करोड ४२ लाखभन्दा बढी मतदाताहरु नामावलीमा दर्ता छन्।

दलहरुले निर्वाचन प्रक्रियामा सामेल गराउन विदेशमा रहेका नेपालीहरुलाई समेत मतदान गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन्।