भेनेजुएलामा ‘अवैधानिक’ जनमत संग्रह

  • 16 जुलाई 2017
मतदान तस्वीर कपीराइट Reuters

भेनेजुएलाका मतदाताहरु संविधान पुनर्लेखनका लागि संविधानसभा गठन गर्ने सरकारको प्रस्तावमाथिको 'अवैधानिक' जनमत संग्रहमा सहभागी भइरहेका छन्।

विपक्षीहरुको आह्वानमा राष्ट्रपति निकोलस मदुरोको सरकारले गरेको उक्त प्रस्तावमाथि मतदान भइरहेको छ।

सेतो पोसाक लगाएका विपक्षी स्वयंसेवकले २,००० स्थानमा मतदानको व्यवस्था गरेका छन्।

प्रस्तावित संविधानसभाका आलोचकहरुले त्यसले निरंकुशता निम्त्याउने बताउने गरेका छन्।

तनाव

जनमत संग्रहमा मतदातालाई सन् २०१८ मा राष्ट्रपति मदुरोको कार्यकाल सकिनुअघि उनीहरुले मतदान चाहन्छन् वा चाहन्न भने प्रश्न सोधिएको छ।

मदुरोले उक्त जनमत संग्रह वैध नभएको बताएका छन्।

तस्वीर कपीराइट EPA

गत एप्रिल महिनायता सरकार र विपक्षीबीचको तनावमा करिब एक सयजनाले ज्यान गुमाइसकेका छन्।

यसअघि शुक्रवार विपक्षी नेता एनरिके केप्रिलेस रेडोन्सीले भेनेजुएलाका जनताहरु देशमा स्वतन्त्रताका निम्ति मतदान गर्ने बताएका थिए।

जनमत संग्रहमा तेस्रो प्रश्न सोधिएको छ, के तपाईँहरु देशको वर्तमान संविधानको रक्षा सेनाले गरोस् भन्ने चाहनुहुन्छ?

विकल्प

संविधान पुनर्लेखनका लागि संविधानसभा गठन गर्ने प्रस्तावमाथि यही जुलाइ महिनाको ३० तारिख मतदान गराउने सरकारको तयारी छ।

समाजवादी राष्ट्रपति मदुरोले मुलुकलाई आर्थिक र राजनीतिक संकटबाट पार लगाउने त्यो मात्रै विकल्प भएको बताउँदै आएका छन्।

उनी भन्छन्, नयाँ संविधानले विपक्षीहरुलाई प्रभावहीन बनाउनेछ र सत्तापलटको प्रयास गर्नेलाई परास्त गर्नेछ अनि मुलुकमा शान्ति प्रवर्द्धन गर्नेछ।

तर विपक्षीहरुको आशंका छ, संविधानसभा गठन प्रक्रियाले यसै वर्ष हुनुपर्ने क्षेत्रीय निर्वाचन पर धकेलिनेछ र अर्को वर्ष हुने राष्ट्रपतीय चुनाव पनि समयमा हुन पाउनेछैन।

उनीहरुले प्रस्तावित संविधानसभाले आफूहरुको पकड रहेको नेश्नल एसेम्बलीलाई पनि कमजोर तुल्याउने आशंका व्यक्त गर्दै आएका छन्।