‘हालसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर’

  • 16 जुलाई 2017
शर्मा

कर फर्छ्यौट आयोगका दुईजना पदाधिकारीसहित आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरुले बदनियतपूर्वक १० अर्ब रुपैयाँभन्दा बढी रकम अनधिकृत रुपमा कर छुट तथा मिनाहा गरी गैरकानूनी रुपमा सरकारलाई नोक्सानी पूर्याएको अख्तियारको दावी छ।

अख्तियारका अनुसार यो अहिलेसम्मकै सबैभन्दा बढी बिगो दावी गरिएको भ्रष्टाचार मुद्दा हो।

शर्माबाहेक अन्य दुईजना फरार रहेको बताइएको छ।

अभियोगपत्र

फर्छ्यौट आयोग २०७१ का दस्तावेजलाई अध्ययन गर्नुका साथै पक्राउ परेका राजश्व विभागका निलम्बित महानिर्देशक शर्मासँग बयान लिने लामो प्रक्रिया पूरापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार मुद्दा दर्ता गराएको हो।

आयोगले पेश गरेको अभियोगपत्र र दस्तावेज अध्ययनमा समय लागेका कारण शुक्रवार दर्ता हुन सकेको थिएन।

उक्त मुद्दामा कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत सदस्यद्वय उमेश ढकाल र आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक समेत रहेका शर्मालाई विपक्षी बनाइएको विशेष अदालतका रजिष्ट्रार भिमकुमार श्रेष्ठले बताए।

उनले भने, "तीनजनाविरुद्ध आरोपपत्र पेश हुन आएको हो। यसमा कुल बिगोको रुपमा १० अर्ब २ करोड १९ लाख १ हजार ८ सय ४२ रुपैयाँ दावी गरिएको छ। मुद्दा चाहिँ आइतवार यस अदालतमा दर्ता भएको छ।"

मुद्दामा दावी गरिएको बिगो रकम अख्तियारद्वारा हालसम्म दायर गरिएका भ्रष्टाचार मुद्दाहरुमध्ये सबैभन्दा धेरै भएको बताइएको छ।

गैरकानूनी

अभियुक्तहरुले असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफूलाई गैरकानूनी लाभ पुर्याउने र सरकारलाई गैरकानूनी रुपले हानी नोक्सानी पुर्याउने काम गरेको अख्तियारको दावी छ।

अख्तियारका प्रवक्ता जीवराज कोइरालाले भने, "कुनै व्यक्तिलाई भुक्तानी गर्दा कटाइएको वा कटाइएको अग्रीम कर मिनाहा गरेको, अस्वाभिक रुपमा कर मिनाहा गरी प्रशासकीय पुनरावलोकन गरेको, छली भएको कर समेत मिनाहा गरेको, कर निर्धारणमा चित्त बुझाइ बसेका करदाताको कर बक्यौता नै मिनाहा गरेको लगायतका आरोप छन्।"

जेष्ठ १९ गते पक्राउ परेका शर्मा हाल अख्तियारकै हिरासतमा छन।

माग गरिएको ३ अर्ब २ करोड रुपैयाँ धरौटी बुझाउन नसकेकाले उनी हिरासतमा छन्।

महत र ढकालको भने खोजी भइरहेको प्रवक्ता कोइरालाले बताए।

अनुसन्धान

उनले भने, "विभिन्न सार्वजनिक सञ्चारमाध्यममा सूचना प्रकाशित गरिसकेका छौँ। खोजी कार्य पनि जारी नै छ। अहिले हामीले फरार भएको अवस्थामा उनीहरु समेतलाई विपक्षी बनाएर मुद्दा दायर गरिएको अवस्था छ।"

मुद्दा दर्ता लगतै शर्मासँग आइतवारै बयान लिने नियमित प्रक्रिया थियो।

तर उनको रिहाइको माग गर्दे सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथिको सुनुवाइका लागि सर्वोच्चमा उपस्थित गराउनुपरेका कारण त्यो हुन नसकेको विशेष अदालतले जनाएको छ।

शर्माका वकिलहरुले कर फर्छ्यौट आयोगको काम कारबाहीमाथि अनुसन्धान गर्न र मुद्दा चलाउन नमिल्ने कानूनी व्यवस्था रहेको तर्क गर्दै आएका छन्।

शर्मालाई अख्तियारले तोकेको धरौटी रकम पनि धेरै भएको उनीहरुको दावी छ।