दक्षिण कोरियाद्वारा उत्तर कोरियासँग वार्ताको प्रस्ताव

  • 17 जुलाई 2017
उत्तर कोरिया तस्वीर कपीराइट Getty Images

दक्षिण कोरियाले दुई वर्ष यता पहिलो पटक उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेको छ।

झण्डै पन्ध्र दिन अघि प्योङ्याङले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको विवरणमाझ पछिल्लो प्रस्ताव आएको हो।

गएको मे महिनामा दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित मून जेइ इनले अलि उदार शासन अघि बढाउन खोजेका छन् र 'एकदमै खतरनाक' भनिएको सीमा वारपारको तनाव कम गर्न आफ्ना उत्तर कोरियाली समकक्षीसँग वार्तामा बस्ने इच्छा रहेको संकेत दिएका छन्।

सीमा क्षेत्रमा देखिएका सबै खालका दुश्मनी अन्त्य गर्ने वाचा गरेका राष्ट्रपति मूनले त्यसै अनुसार सैनिक तहमा वार्ताका लागि उत्तरलाई प्रस्ताव गर्न लागेको ठानिएको छ।

वार्ता

दुवै पक्षबीच चाँडोमा शुक्रबारबाट वार्ता पुन: शुरु हुनसक्ने सोलस्थित अधिकारीहरुले जनाएका छन्।

हालै उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा तनाव चुलिएको छ।

तस्वीर कपीराइट EPA

दुबै पक्षबीच उत्तर र दक्षिण कोरिया छुट्याउने असैनिकृत क्षेत्रमा वार्ता हुने बताइएको छ।

हालै बर्लिनमा गरेको सम्बोधनमा दक्षिण कोरियाली नेता मुनले प्योङयाङसँग नजिक भएर काम गर्न चाहेको बताएका थिए।

चुनौती

पछिल्लो वार्ताको उद्देश्य दशकौँदेखि दुई कोरियाको सम्बन्धलाई छायाँमा पारेको सैनिक मूठभेड कम गर्नु हुने बताइएको छ।

आपसी विश्वास कायम गर्ने सीमा क्षेत्रमा चर्का आवाजमा आ-आफ्ना पक्षका प्रचार सामग्री बजाउन प्रयोग गरिने माइकहरु बन्द गराउने लक्ष्य अब हुने वार्ताले राख्नसक्ने ठानिएको छ।

सीमा वारपार बस्ने परिवारहरुबीच एकता कायम गर्न सघाउन अलग्गै वार्ताको पनि प्रस्ताव गरिएको छ।

आफ्नो देशलाई गद्दारी गरेको आरोप लागेका व्यक्तिहरुलाई दक्षिण कोरियाले फिर्ता पठाउनुपर्ने माग राख्ने गरेको उत्तर कोरियासँगको वार्ता प्रकिया चूनौतिपूर्ण हुनसक्ने विश्लेषण गरिएको छ।