युएइद्वारा ह्याकिङ आरोप अस्वीकार

  • 17 जुलाई 2017
कतारमा प्रतिकृया तस्वीर कपीराइट AFP

संयुक्त अरब एमिरेट्सले ठूलो कूटनीतिक संकट शुरु गर्नमा भूमिका खेलेको एउटा ह्याकिङ आक्रमण उसले गरेको भन्ने आरोप अस्वीकार गरेको छ।

वाशिंग्टन पोष्टले अमेरिकी गुप्तचर अधिकारीहरुलाई उद्धृत गर्दै - गत मे महिनामा कतारी समाचार संस्थाको वेबसाइटको ह्याकिङ संयुक्त अरब एमिरेट्सले गराएको थियो भन्ने दावी गरेपछि संयुक्त अरब एमिरेट्सले त्यस्तो प्रतिकृया दिएको हो।

गत मे २३ मा कतारको सरकारी समाचार संस्थाले कतारी अमिर शेख तमीम बिन हमाद अल-थानीले इरानप्रतिको अमेरिकाको शत्रुभावको आलोचना गरेको, इरानलाई बेवास्ता गर्न नसकिने इस्लामवादी शक्ति भनेको र हमासलाई प्यालेस्टिनी जनताको आधिकारिक प्रतिनिधि भनेको भन्दै समाचार प्रकाशित गरेको थियो।

त्यो समयमा कतारका अमिरले आफ्ना ती भनाइहरु झुटो भएको बताएका थिए।

तर त्यो समाचार कतार र उसका छिमेकीहरुबीच कूटनीतिक फूट उत्पन्न गर्ने एउटा कारण बनेको थियो।

दावी

वाशिंग्टन पोष्टले नाम नखुलाइएका अमेरिकी गुप्तचरहरुलाई उद्धृत गर्दै भर्खर विश्लेषण गरिएको जानकारी अनुसार गत मे महिनाको २३ तारिखमा संयुक्त अरब एमिरेट्स सरकारका वरिष्ठ सदस्यले कतारको सरकारी सञ्चार माध्यमका वेबसाइट ह्याक गर्ने बारेमा छलफल गरेको पुष्टि गरेको दावी गरेको छ।

तर संयुक्त अरब एमिरेट्स का विदेश राज्यमन्त्री अनवर गर्गशले सोमबार बीबीसीलाई वाशिंटन पोष्टको रिपोर्ट झुटो भएको बताएका छन्।

कतारका अधिकारीले सो वेबसाइट अज्ञात मानिसले ह्याक गरेको भन्दै सो समाचार झुटो भएको बताएका थिए।

तर त्यो समाचार क्षेत्रभर प्रसारण गरिएको थियो र त्यसले ठूलो हलचल मच्चाएको थियो।

प्रभाव

संयुक्त अरब एमिरेट्स, साउदी अरेबिया, बाहरेन र इजिप्टले कतारी सञ्चार माध्यमलाई निषेध गरेका थिए र त्यसको २ हप्तापछि कतारसंग सबै सम्बन्ध तोड्दै उनीहरुले उसमाथि नाकाबन्दी लागू गरिरहेका छन्।

संयुक्त अरब एमिरेट्स का अधिकारीहरुले आफैं सो वेबसाइट ह्याक गरेको हो वा अरु कसैलाई पैसा तिरेर त्यसो गर्न लगाएको हो त्यो स्पष्ट नभएको अमेरिकी अधिकारिहरुले वाशिंग्टन पोष्टलाई बताएका छन्।

अमेरिकी गुप्तचर निकायले वाशिंग्टन पोष्टको सो समाचारप्रति प्रतिकृया दिन अस्वीकार गरेका छन्।

कतारले छिमेकी मुलुकले आतंकवादी भनेका मुसलिम ब्रदरहुड जस्ता केही समूहलाई सहयोग गरेको स्वीकार गरेको छ तर अल कायदा र इस्लामिक स्टेट भनिने जिहादी समूहसंग भने सम्बन्ध भएको अस्वीकार गरेको छ।