क्याथोलिक विद्यालयका छात्र ‘दुर्व्यवहारको शिकार’

  • 18 जुलाई 2017
क्यावर विद्यालय तस्वीर कपीराइट Getty

जर्मनीमा सार्वजनिक गरिएको एउटा प्रतिवेदन अनुसार एउटा विश्व प्रसिद्ध रोमन क्याथोलिक संगीत विद्यालयमा सन् १९४५ देखि सन् १९९४ सम्ममा ५०० भन्दा बढी बालकमाथि शारीरिक वा यौन दुर्व्यवहार गरिएको थियो।

रेगेन्सबेर्गर डम्सपाट्सेन विद्यालयका प्रतिनिधीले हालसम्म सो प्रतिवेदनबारे औपचारिक प्रतिकृया दिएका छैनन्।

मंगलबार आफ्ना निश्कर्ष प्रस्तुत गर्दै अनुसन्धानकर्ता वकील उलरिख भेबरले ६ दशकको समयमा शारीरिक दुर्व्यवहारका ५०० घटना र यौन दुर्व्यवहारका ६७ घटना भएको थाहा पाएको बताएका छन्।

प्रतिवेदनका अनुसार सन् १९४५ र १९९० को दशकका बीच सो क्याथोलिक चर्चका ४९ अधिकारी त्यस्तो काममा संलग्न भएका थिए।

'यातना'

त्यस्तो दुर्व्यवहार रेगेन्सबेर्गर डम्सपाट्सेन विद्यालयको उच्च माध्यमिक र प्राथमिक दुवै तहमा भएको आरोप लगाइएको छ।

सन् २०१६ मा गरिएको अनुसन्धानले त्यहाँ २३१ बालबालिकामाथि दुर्व्यवहार गरिएको निष्कर्श निकालेको थियो।

पीडितहरुले सो विद्यालय नर्क जस्तो, जेल जस्तो, र यातनागृह जस्तो भनेका छन्।

उनीहरुले सो विद्यालयमा बिताएको आफ्नो समयलाई डर, हिंसा र निराशाले भरिपूर्ण जीवनकै सबभन्दा खराब समय भनेका छन्।

चर्चको भूमिका

सन् १९६४ देखि १९९४ सम्म विद्यालय प्रमुख रहेका ग्योर्क राट्सिंगरलाई सो समस्यालाई बेवास्ता गरेको र हस्तक्षेप नगरेकोमा दोषी पाइन सक्ने भेबरले बताएका छन्।

भूतपूर्व पोप बेनेडिक्ट १६ का ९३ वर्षीय दाजु राट्सिंगरले त्यस्तो दुर्व्यवहारका बारेमा आफूलाई केही थाहा नभएको र आफू त्यो विद्यालयमा रहुञ्जेल त्यो विषय कहिल्यै नउठेको बताएका छन्।

सो चर्चले यो भन्दा अघि पीडितहरुलाई ५ देखि २० हजार पाउण्ड सम्म क्षतिपूर्ती दिने प्रस्ताव गरेको थियो।

सन् २०१० मा पहिलोपटक सो एक हजार वर्ष पुरानो विद्यालयमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो।

आरोपका श्रृंखला

क्याथोलिक चर्चलाई विगत केही वर्षमा थुप्रै त्यस्ता आरोपले स्तब्ध बनाएका छन्।

आयरल्याण्डमा दुर्व्यवहार भएको सन् १९९० को दशकमा खुलासा भएको थियो र एक दर्जन भन्दा बढी देशमा त्यस्ता दुर्व्यवहारका घटना भएको यो शताब्दीको शुरुवातमा पत्ता लागेको थियो।

संयुक्त राष्ट्रसंघले भ्याटिकनमाथि धर्मगुरुहरुलाई हजारौं बालबालिकामाथि दुर्व्यवहार गर्न दिने किसिमका नीतिहरु नियोजित रुपमा अवलम्बन गरेको आरोप लगाएको छ।

चर्चमा हुने यौन दुर्व्यवहारमाथि कदम चाल्नुपर्ने आह्वान गरेका वर्तमान पोप फ्रान्सिसले पीडितहरुमा आशा जगाएजस्तो देखिएको छ।