‘मन्त्रालय बाँडफाँडमा कांग्रेस-माओवादी सहमति’

  • 18 जुलाई 2017
बैठक
Image caption मन्त्रालय बाँडफाँडको टुंगो लागेपनि मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्नेबारे अझै अनिश्चय देखिन्छ। (फाइल फोटो)

सत्ता-सहयात्री दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय र त्यसको संख्या बाँडफाँडमा सहमति भएको कांग्रेसका एकजना नेताले जनाएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित दुवै दलका नेता सम्मिलित बैठकले त्यस्तो निर्णय लिएको हो।

तर बिस्तार कहिले गर्ने भन्नेबारे निश्चित भइसकेको छैन।

संविधान संशोधनको माग गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालसँग बुधबार बिहान छलफल गरेपछि त्यसबारे टुंगोमा पुगिने सत्तापक्षको भनाइ छ।

१३/९

कांग्रेस र माओवादी केन्द्रको कार्यदल तहको लामो छलफलपछि शीर्षस्थ नेताको बैठक भएको थियो।

दुई प्रमुख दलबीच मन्त्रालय र त्यसको संख्या बाँडफाँडमा कुरा नमिलिरहेको खबरमाझ बैठकपछि दुई दलको कार्यदलमा रहेका कांग्रेस नेता रमेश लेखकले भने, "दुई दलबीच मन्त्रालयको संख्या बाँडफाँडमा सहमति भएको छ जसअनुसार नेपाली कांग्रेसले १३ र माओवादी केन्द्रले ९ वटा मन्त्रालय लिनेछ।"

दुवै दलबाट तीन-तीनजना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन्।

कुल ३० मन्त्रालयमध्ये दुई दलको भागमा २२ वटा पर्नेछ।

बाँकी आठ मन्त्रालयमध्ये नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान तथा स्थानीय विकासमन्त्री छन्।

उक्त दलले थप एउटा मन्त्रालय पाउनु पर्ने माग गर्दै आएको छ।

Image caption सत्तापक्षले राष्ट्रिय जनता पार्टीसँग संविधान संशोधनबारे पुन: छलफल गर्ने भएको छ

बाटो खुला

माओवादी केन्द्रले आफ्ना थप मन्त्रीको करिब टुंगो लगाइसकेको बताइएको छ।

नेता लखेकका अनुसार कांग्रेसबाट बन्ने थप मन्त्रीबारे निर्णय हुन बाँकी छ।

त्यसैले सरकार बिस्तारमा अझै केही दिन लाग्न सक्ने ठानिएको छ।

कांग्रेस नेता लेखकले भने, "संविधान संशोधन प्रस्ताव अघि बढाउने कि नबढाउने भन्ने विषयमा बुधबार राष्ट्रिय जनता पार्टी नेपालसँग छलफल भएपछि मन्त्रिमण्डल विस्तार कहिले गर्ने भन्ने टुंगो लाग्छ।"

सरकार गठनको डेढ महिना बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल बिस्तार गर्न नसकेको भन्दै आलोचना खेप्दै आएका छन्।

तर मन्त्रालय बाँडफाँडमा सहमति भइसकेकाले सरकारले पूर्णता पाउने बाटो खुलेको नेताहरुको भनाइ छ।