"जी-ट्वेन्टीका बेला दुईपटक बैठक"

  • 20 जुलाई 2017
बैठक
Image caption राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनबीच भएको दोश्रो बैठकको विषयबस्तु खुलाइएको छैन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका रुसी समकक्षी भ्लादिमिर पुटिनसँग यो महिनाको शुरुतिर जर्मनीमा भएको जी२० बैठकमा दुईपटक भेटवार्ता गरेको ह्वाइटहाउसले बताएको छ।

यसअघि दोश्रो बैठक भएको गोप्य राखिएको थियो।

औपचारिक बैठकको घण्टौं पछि एकजना रुसी अनुवादकर्ताको उपस्थितिमा दुईजनाको बैठक भएको रिपोर्टहरुमा बताइएको छ।

दुईजनाबीच के छलफल भयो बताइएको छैन। औपचारिक रेकर्ड पनि राखिएको थिएन।

अभियान साँठगाँठ

रुस र ट्रम्पको चुनाव अभियानसँग साँठगाँठ भएको भन्ने आरोपहरुबीच उनीहरुको सम्बन्ध गम्भीर समीक्षाको विषय बनिरहेको छ।

गत वर्षको राष्ट्रपतीय चुनाव अभियानमा रुसले ट्रम्पलाई राष्ट्रपति बन्न सघाएको अमेरिकी गुप्तचर निकायको विश्वास छ जुन रुसले अस्वीकार गर्छ।

ट्रम्पले साठगाँठ अस्वीकार गर्दै आएका छन्।

ह्यामबर्गमा आयोजित जी२० बैठकका बेला राष्ट्रप्रमुखहरुको निजी दिवाभोजका बेला दोश्रो बैठक भएको थियो।

अमेरिकी राष्ट्रपति एक्लै थिए र रुसी राष्ट्रपति आफ्ना दोभाषेसँग थिए।

अमेरिकी मिडियाका अनुसार भेटघाट एक घण्टा लामो थियो।

बैठकमा के भयो भनेर ह्वाइट हाउसका अधिकारीहरुलाई ट्रम्प आँफैले दिएको विवरण मात्र उपलब्ध छ।

मिडिया रिपोर्टहरुमा उक्त बैठकबारे खुलासा भएपछि ह्वाइट हाउसले त्यो भेटको पुष्टि गरेको हो।

एक अधिकारीले त्यसलाई 'छोटो कुराकानी' भन्दै त्यो 'दोश्रो बैठक' नभएको बताए।

'उचालिएका आँखिभौं'

दिवाभोजका बेला उपलब्ध अमेरिकी अनुवादकर्ताले रुसी भाषा नबोल्ने भएकाले रुसी दोभाषे प्रयोग गरिएको ती अधिकारीले बताए।

दोश्रो बैठकका बारे पहिलो जानकारी अमेरिकास्थित युरेसिया ग्रुपका अध्यक्ष इयान ब्रेमरले आफ्ना उपभोक्तालाई न्यूजलेटर मार्फत बाँडेपछि सार्वजनिक भएको थियो।

उनले दुवैजनाले गोप्यरुपमा र जोशिलो कुराकानी गरेको बताए।

भेटमा अमेरिकी अनुवादकर्ता नराखिएकाले अहिले धेरैको ध्यान तानिएको छ।

औपचारिक भेटवार्तापछि भने ट्रम्पले पुटिनसँग अमेरिकी निर्वाचनमा रुसको आरोपित संलग्नताबारे बारम्बार प्रश्न गरेको तर पुटिनले अस्वीकार गरेको बताएका थिए।