'आवास अनुदान वितरण चुनौतीपूर्ण'

  • 19 जुलाई 2017
नुवाकोटमा पुनर्निर्माणमा खटिएका महिलाहरु
Image caption नुवाकोटमा पुनर्निर्माणमा खटिएका महिलाहरु

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि अनुदान लिने समयसीमा तय गरे पनि उक्त लक्ष्य प्राप्तिमा जग्गा विवाद, ढुवानी समस्या, तालिमप्राप्त जनशक्ति अभाव जस्ता चुनौती बाधक बन्ने भूकम्प प्रभावित क्षेत्रमा खटिएका अधिकारीहरुले बताएका छन्।

प्राधिकरणले २०७५ असार मसान्तसम्ममा निजी आवास निर्माणकालागि अन्तिम किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेको छ।

भूकम्पले भत्काएका निजी आवास पुर्नर्निमाणमा दबाब सृजना गर्न सेवाग्राहीका सामु अनुदान रकम लिन समयसीमा तोकिएको भनिएपनि सबैभन्दा पहिला विद्यमान चुनौतीको सामना गर्न भूकम्प प्रभावित क्षेत्रमा खटिएका प्राधिकरणकै अधिकारीले माग गरेका छन्।

विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको गोर्खा जिल्लाको हकमा उक्त समयसीमा कार्यान्यवन गर्न गाह्रो भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालय गोर्खाका प्रमुख राजेन्द्र कार्कीले बताएका छन्।

'कठिन'

उनले भने, "गोर्खामा यो समयसीमा लागू गर्न गाह्रो छ। गोर्खाको आधा भाग उत्तरी भेकमा पर्छ जहाँ अहिले सामान्य रुपमा मानिस समेत जान-आउन कठिन छ। सो क्षेत्र अहिले सम्पर्कविहीन छ। त्यहाँ निर्माण सामग्री र घर बनाउने जनशक्ति पठाउन समेत गाह्रो छ। बर्षा सकिएलगत्तै पनि भौगोलिक हिसाबले समयसीमाभित्रै अनुदान रकम लिन कठिन छ।"

त्यस्तो समयसीमाले पीडितहरुमाथि दबाब सृजना गर्ने भएपनि गुठी जग्गा, लालपूर्जा नभएका जग्गाधनी, निर्माण साम्रागी ढुवानी गर्न समस्या भएका क्षेत्र, आवश्यक जनशक्ति र तालिम अभावका कारणले पनि निर्धारित समयमै अनुदान लिइसक्न सम्भन नहुने जिल्लास्थित प्राधिकरणका अधिकारी बताउँछन्।

प्राधिकरणका जिल्ला समन्वय समिति सचिवालय सिन्धुपाल्चोकका प्रमुख रुद्र मल्लका अनुसार कर्मचारीले थुप्रै चुनौतीहरु सामना गरिरहेका छन्।

उनले भने, "गुठीको सन्दर्भमा पनि मोहीलाई छुट्याउने काम छिटोभन्दा छिटो गरिदिनु पर्‍यो। निर्माण सामग्री ढुवानी लगायतका कुरामा अलिकति चासो स्थानीय तहले लिइदिनु पर्‍यो। अनुदान रकम समयमै लिने वातावरण बनाउन कागजी काम गर्दै हिडेका गैरसरकारी संस्थालाई काम हुने गरी खटाउनु पर्छ।"

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले चाहिँ स्थानीय जनप्रतिनिधिहरुको सहभागितामा काम अघि बढाइए निर्धारित समयभित्रै अनुदान रकम वितरण हुन सम्भव हुने बताए।

प्राधिकरणले गत पुससम्ममा पहिलो किस्ता लिइसकेका लाभग्राहीले आगामी पुससम्ममा दोस्रो किस्ता लिइसक्नु पर्ने, अबको कार्तिक मसान्तभित्र पहिलो किस्ता लिनेले चैत मसान्तसम्ममा दोस्रो किस्ता लिइसक्नुपर्ने र आगामी पुस मसान्तभित्र दोस्रो किस्ता लिनेले आगामी जेठ सम्म तेस्रो किस्ता लिनुपर्ने जनाएको छ।