थाइ पूर्व जर्नेल 'मानव तस्करीका दोषी'

  • 19 जुलाई 2017
आप्रवासी तस्वीर कपीराइट AFP

थाइ सेनाका एक जर्नेललाई मानव तस्करी सम्बन्धी देशकै ठूलो मुद्दा अन्तर्गत मानव तस्करी र संगठित अन्तर्राष्ट्रिय अपराध गरेकोमा दोषी पाइएको छ।

ब्यांककमा भएको सो महत्वपूर्ण मुद्दाको फैसलामा सेनाका भूतपूर्व जर्नेल मनट कोंगपान लगायत ४० जनालाई बांग्लादेशका नागरिक र म्यानमारका रोहिञ्ज्या समुदायका मानिस तस्करी गरेको आरोपमा दोषी पाइएको छ।

मानव तस्करी, अपहरण र हत्या लगायतका अभियोगमा १०० जना भन्दा बढी मानिसले त्यहाँ मुद्दा खेपिरहेका छन्।

मुसलमान रोहिञ्ज्याहरु वर्षौंदेखि म्यानमार छोडेर भागिरहेका छन् र त्यसो गर्न सघाउन तस्करहरुलाई पैसा दिइरहेका छन्।

र्नेलको गिरफ्तारी

तस्वीर कपीराइट Reuters

जर्नेल मनट कोंगपानलाई सन् २०१५ को जुन महिनामा गिरफ्तार गरिएको थियो।

थाइल्याण्डले देशभरबाट मानव तस्करीको बाटो बन्द गर्ने प्रयासका रुपमा त्यो कदमलाई हेरिएको थियो।

उनी र दोषी पाइएका अन्यलाई न्यायाधीशले सजाय सुनाउन भने बाँकी नै छ।

सैनिक शासन रहेको थाइल्याण्डमा आप्रवासीको तस्करीको मुद्दामा तानिएका उनी पहिलो वरिष्ठ सैनिक अधिकारी हुन्।

संकट

सन् २०१५ मा थाइल्याण्ड छोडेर मलेशिया वा अन्यत्र जान खोजेका हजारौं आप्रवासी समुद्रमा अलपत्र परेका थिए।

अन्तर्राष्ट्रिय समुदायले थाइ अधिकारीहरुलाई तस्करीको सञ्जाल तोड्न दवाव दिएपछि संकट गहिरिएको थियो।

त्यसपछि तस्करहरुले शरणार्थीहरुलाई समुद्र र जमीनमा अलपत्र छाडेका थिए र कुनै पनि छिमेकी देशले उनीहरुलाई लिन मानेका थिएनन्।

थाइल्याण्ड र मलेशियाको सिमानामा थुप्रै आप्रवासीका शव पुरिएको भेटिएपछि हालको यो मुद्दाको कारवाही शुरु गरिएको हो।

खतरनाक

अभियोग लगाइएका धेरैजना थाइ छन् तर म्यानमार र बांग्लादेशका थुप्रै मानिसलाई पनि गिरफ्तार गरिएको छ।

अनुसन्धानमा संलग्न एकजना वरिष्ठ प्रहरी अधिकारी मेजर जर्नेल पवीन पोंगसिरिन सो प्रकणमा संलग्न शक्तिशाली मानिसका कारण आफ्नो ज्यान खतरामा भएको ठानेर अस्ट्रेलिया भागेका छन्।

नागरिकता नभएका मुसलमान रोहिञ्ज्याहरु दशकौंदेखि म्यानमारबाट भागेर थाइल्याण्ड, मलेशिया र इण्डोनेशिया तर्फ जाने गरेका छन्।

उनीहरुले आफूहरु त्यहाँ पुस्तौं अघि पुगेका अरब व्यापारीका सन्तती भएको बताउँछन् तर म्यानमारको सरकारले भने उनीहरुलाई बांग्लादेशका आप्रवासी भन्ने गर्दछ।

सन् २०१५ मा अलपत्र परेका शरणार्थी मध्ये छिमेकी बांग्लादेशका आर्थिक आप्रवासी पनि थुप्रै थिए।